तस्वीर : संगीता सुनारलाई लाेकसेवा तयारी कक्षाका लागि पुस्तक दिँदै वडाध्यक्ष तामाङ
-नारायण ढुङ्गाना
माधवपुर, १३ मंसिर : चितवनको रत्ननगर नगरपालिका१५ का वडाध्यक्ष आसिक तामाङ नागरिकतासम्बन्धी समस्या लिएर केही दिन अघि जिल्ला प्रशासन कार्यालय चितवन पुग्नुभयो ।
अध्यक्ष तामाङ झ्यालबाट नागरिकता फाँटका एक कर्मचारीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । फाँटको अलि परबाट एक महिला सर नमस्कार भन्दै आउनुभयो । वडाध्यक्ष तामाङले नमस्कार त फर्काउनुभयो तर अकमक्क पर्नुभयो । साेच्नुभयो, ‘नागकिरता फाँटमा धेरै कर्मचारी थिए, तर ति महिला किन यसरी मलाई नै नमस्कार गर्दै हतारिँदै आइन्?। “म के त सर उही हजुरले वडामा चलाउनुभएको लोकसेवा तयारी कक्षाकी विद्यार्थी भूमिका”, वडाध्यक्षले नमस्कार फर्काउन नभ्याउँदै भूमिकाले कुरा खोल्नुभयो ।
त्यो सुनेर वडाध्यक्ष तामाङ खुसीले गद्गद् हुनुभयो । उनले सम्झिएकोमा भन्दा पनि आफ्नो प्रयासले सार्थकता पायो र केही युवाहरुले सरकारी जागिर खान थाले भन्ने कुराले उहाँलाई खुसी बनाएको हो । त्यो क्षण सम्झँदै उहाँले भन्नुभयो, “त्यो बेला साँच्चै म भावुक भएँ, मेरो मुखबाट शब्द नै निस्किन सकेन, त्यो बेला फिल भयो कि आफूले गरेको प्रयास सार्थक हुँदै गएको रहेछ ।”
उहाँ हुनुहुन्छ चितवन खैरहनीकी भूमिका न्यौपाने । केही अघि रत्ननगर नगरपालिका वडानम्बर १५ ले चलाएको लोकसेवा तयारी कक्षामा सहभागी भएकी उहाँ नाम निकालेर प्रशासन कार्यालयको नागरिकता फाँटमा काम गरिरहनुभएको छ ।

गत विहिवार रत्ननगर वडा नम्बर १५ को कार्यालयमा पुग्दा एक किशोरी संगीता सुनार डराइडराइ वडाध्यक्षको कार्यकक्षमा पस्नुभयो । जेनजी आन्दोलनले जलाएको वडा कार्यालयको माथिल्लो तलामा कामचलाउ अफिस बनाएर वडा कार्यालय सञ्चालन भएको छ ।
भरतपुरको वीरेन्द्र क्याम्पसमा स्नातक गर्दै गरेकी सुनारले लोकसेवाका बारेमा भर्खरभर्खर नाम सुनेकी समृद्धिखबरसँग बताउनुभयो । वडाले तयारी कक्षा चलाएकैले उनले लोकसेवाबारे जानकारी पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पढेर सरकारी जागिर खाने अनि परिवारलाई पनि हेर्नु छ, विदेश नगएर नेपालमै केही गर्ने चाहना भएकाले म लोकसेवा तयारी कक्षा पढ्न आएकी हुँ ।”
तत्कालै वडाध्यक्ष तामाङले नायब सुब्बाको तयारीका लागि पाइने ठूलो ठेली र आवश्यक सामाग्री दिएर सफलताको कामनासहित सुनारलाई बिदाई गर्नुभयो । पुस्तक पनि वडाले निशुल्क दिइरहेको छ ।
अहिले वडाले चलाएको लोकसेवा तयारी कक्षाको चौधो ब्याच चलिरहेको छ । वडाका अनुसार यसअघि लोकसेवा तयारी कक्षा पढेका मध्ये ९ जनाले सरकारी जागिर खान थालिसकेका छन् ।
एक जना वडा नम्बर १५ कैले नाम निकालेर काम थालिसकेका छन् । एउटा वडाको प्रयासले यसरी युवाहरुले रोजगारी पाउँछन् भने देशभरका ६ हजार ७४३ वडाहरुले यसैगरी सकारात्मक प्रयास गर्ने हो भने युवाहरुलाई रोजगगारीका लागि समस्या नहुने स्थानीयहरु बताउँछन् ।
लोक सेवामा नाम ननिकाल्नेहरु पनि तयारी कक्षा लिएपछि क्षमतामा आमूल परिवर्तन भएका छन् । कुनै न कुनै जागिर खाएर वा आफैँ स्वरोजगार बन्न हिम्मत बढ्ने गरेको पाइएको वडाध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार पढ्छु भन्ने हरुलाई पालिका वडा नहेरिकन पढाउने गरिएको छ ।
लोकसेवाको तयारी कक्षा चलाउँदै आएको खैरहनीको लोकसेवा सारथी प्रालीका सञ्चालक महेश घिमिरे पनि यस्ता युवाहरुलाई सहजीकरण गर्दै आएको बताउनुहुन्छ । उहाँले रत्ननगर १५ ले थालेपछि तयारी कक्षापछि यसरी कक्षा चलाउने वडाहरु बढ्न थालेको र आफूले सहजीकरण गरिरहेको सुनाउनुभयो । यसपालि जारी ६० दिने कक्षामा २४ जना सहभागी भएका छन् । उक्त वडाबाट अहिलेसम्म १२० जनाले तयारी कक्षा लिइसकेका छन् ।