काठमाडौँ, ७ मङ्सिर : काठमाडौँमा सात देशका कलाकारको सहभागितामा भोलि मङ्सिर ८ गतेदेखि हुने ‘काठमाडौँ इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’को तयारी पूरा भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा विन्दु स्पेश फर आर्टिष्ट नेपालले आयोजनामा गरेको उक्त परफरमेन्स आर्ट फेस्टिभल’मा नेपालसहित अष्ट्रिया, बंगलादेश, चीन, भारत र फिलिपिन्सका कलाकारहरु सहभागी हुँदैछन् ।
भिडिओ : सौरगंगा दर्शनधारी
भिडिओ : सुविस्ता कायस्थ
प्रतिष्ठानबाट कार्यक्रमको संयोजन गरिरहनुभएकी प्रतिष्ठानकी बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले धेरैजसो देशबाट कलाकार आइसकेका र तयारी करिबकरिब पूरा भएको आज पत्रकारहरुलाई जानकारी दिनुभयो । उक्त फेस्टिभलमा कलाकारहरुले २० वटा कला प्रस्तुत गर्नेछन् ।
सिंगापुर र श्रीलंकाबाट आउने कलाकारहरुले भने अन्तिम समयमा आफ्नो कार्यक्रम स्थगित गरेका पनि उहाँले बताउनुभयो ।
फेस्टिभलले विभिन्न देशका कलाकारहरुबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट हुने प्रतिष्ठानले जनाएको छ । यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने छ ।
चार दिनसम्म चल्ने फेस्टिबलमा विविध कार्यक्रमहरु आयोजना गरिएको छ । भोलि उद्घाटनका दिनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा कलाकारसँग कला सम्बाद आयोजना गरिएको छ । यहाँ स्वदेशी तथा विदेशी कलाकारहरुसँग कलाका विषयमा छलफल हुने छ ।
यस्तै मंसिर ९ गते नक्सालमै परफरमेन्स कला प्रस्तुत हुने छ । विभिन्न देशबाट आएका कलाकारहरुले आफ्नो प्रस्तुति दिने छन् । उनीहरुले लाइभ आफ्नो कला प्रस्तुत गर्ने छन् । यस्तै १० गते नक्सालमै बाँकी कलाकारहरुले परफरमेन्स कला प्रस्तुत गर्ने छन् । मङ्सिर ११ गते तारागाउँ बौद्धमा परफरमेन्स कला प्रस्तुत हुने आयोजकले जनाएको छ ।
यसपाली उक्त फेष्टिभलमा अष्ट्रियाबाट २, बंगलादेशबाट १, चीनबाट १, भारतबाट ३, नेपालबाट १२ र फिलिपिन्सबाट १ जना कलाकारले सहभागिता जनाउँदै छन् । सिंगापुर र श्रीलंकाबाट भने अन्तिम समयमा कलाकारहरु आउने कार्यक्रम स्थगीत भएको छ ।
नेपालमा परफरमेन्स आर्टिष्टहरु निक्कै कम छन् । बेलाबेलामा कलाकारले प्रस्तुति दिने गरे पनि यही विधामा मात्रै रहेर कला प्रदर्शनी भने न्यून हुने गरेको छ । भूकम्प आएको समय २०७२ सालमा यो कला प्रस्तुत भए पनि त्यसपछि यसैलाई केन्द्रित भएर उत्सव भने नभएको उहाँले बताउनुभयो ।
यसपालि परसरमेन्स आर्टमा समसामयिक विषयसँगै दैनिक क्रियाकलाप, पुस्तान्तरण, नागरिकका समस्यालगायत फरकफरक कला प्रस्तुत गर्ने तयारी गरिएको फेस्टिभल आयोजक समितिले जनाएको छ ।