काठमाडौँ, ४ मङ्सिर : पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन अनुरोध गरेको छ ।
जिलल प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना नै जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ ।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिकहरु प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिक जसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताउनुभयो ।
उहाँका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्रााग्रामलगायतका माध्यामबाट तपाईलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नु पर्छ भनी रकम पठाउन लगाइ ठगी हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।
सार्वजनिक सूचनामा अनलाईनबाट सामान खरिद गरी तिर्दा आधिकारिक विक्रेता यकिन गरी मात्र तिर्नु र अथवा नगद दिँदा सुरक्षित हुन सकिने उल्लेख गरेको छ ।
प्रवक्ता भट्टराईले भन्नुभयो, “अपरिचित व्यक्ति वा नम्बरबाट भिडियो कल गरी उक्त कल रेकर्ड गरी भिडियोलाई अश्लिल बनाइ व्ल्याकमेल गर्ने र पैसा माग्ने हुनसक्छ, त्यसतर्फ पनि सावधानहुनुस् ।”
उहाँका अनुसार आफ्ना साथीभाईहरु त्था आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या दर्साई आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकिन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ । किनकी उक्त समयमा खाता ह्याक भएको हुनसक्छ ।
सामाजिक सञ्जाल तथा अन्य अनलाईका माध्याममा सस्तो दरमा सामान देखाएर एड्भान्स रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न अनुरोध गरिएको छ ।
यस्तै प्रहरीले अपरिचित लिंकहरु नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ओटीपी कोड अरुलाई नदिन, आफ्नो मोबाइलको स्क्रिन शेयर कसैलाई नगर्न, सामाजिक सञ्जालहरुमा आफ्ना महत्वपूर्ण जानकारीहरु नराख्न र आफ्नो पासवर्ड, साथीभाई र नजिकका आफन्तलाई पनि शेयर नगर्न अनुरोध गरेको छ ।