काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो।
जितकालागि जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य काठमाडौँ गौर्खाजले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
काठमाडौँको जितमा बेन जेफ्री चाल्र्स वर्थले सर्वाधिक ४६ रनको योगदान गरे। आकाश त्रिपाठीले ३९ तथा लिन्द कुमारले १९ रन जोडे। जोन सिम्पसनले १३ रन जोड्दा भीम सार्की ३ रनमा समेटिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको जनपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो।
उसका लागि आशिफ शेखले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५४ रनको योगदान गरे। ४१ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे।
मयन यादवले अविजित ३१ तथा लाहिरु समाराकुनले २२ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
लाहिरु मिलान्थाले ७ तथा सञ्जय कृष्णमूर्ति र जान निकोलले २–२ रन बनाए। कप्तान अनिल शाहले खाता नै खोल्न सकेनन्।
बलिङतर्फ मिलन्द कुमारले सर्वाधिक ३ विकेट लिए। करण केसी, साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए।