–नारायण ढुङ्गाना
काठमाडौँ, ३० कात्तिक : कला सिर्जनाका माध्याममध्ये महत्वपूर्ण र सुरुवाती माध्याम हो जलरङ । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ ।
सुरुवाती चरणमा कलाकारले जलरङ खेलाउँछन् । पछि छाड्दै गएका कयौँ उदाहरण छन् । तर नेपाली धेरै कलाकारहरुले आफ्नो अन्य माध्यामसँगै जलरङलाई पनि सँगसँगै लगिरहेका छन् । नेपालमा कलाकार एनबी गुरुङको संयोजकत्वमा अन्तरराष्ट्रिय जलरङ समाज नेपाल नै गठन गरेर जलरङको प्रवद्र्धन भइरहेको छ ।
एनबी भिडियो
हरेराम भिडियो
दिराम भिडियो

त्यही जलरङलाई नौलो रुपमा प्रस्तुत गरी कला सिर्जना गर्न सकिन्छ है भन्ने सन्देशसहित दरबारमार्गमा कलाकारले जलरङकको प्रयोग गरी फरक शैलीमा सिर्जना गरेका चित्रहरु देख्न पाइन्छ ।
दरबारमार्गस्थित १०८ ग्यालरीमा जलरङ माध्याममा बनाइएका तीनजना कलाकारका कला प्रदर्शनी भइरहेको छ । वरिष्ठ कलाकार हरेराम जोजु, कलाकार दिराम पाल्पाली र समाजका अध्यक्षसमेत रहनुभएका कलाकार एनबी गुरुङ लामो समयदेखि कला सिर्जनामा पोख्त हुनुहुन्छ । उहाँहरुका कलाले अहिले दरबारमार्गको १०८ गयालरी कलामय बनेको छ ।
यहाँ प्रदर्शित कलामा उहाँकहरुको विषय र टेक्निक फरकफरक पाइन्छ । कलाकार एनबी गुरुङका अमूर्त तथा मुहार चित्रका कला हेर्न पाइन्छ ।
हरेराम जोजुले केही सम्पदाहरु समेट्नुभएको छ । प्रयोगवादी धारा अपनाउने जोजुका यहाँ केही प्रयोगात्मक कला देख्न पाइन्छ । उहाँ प्राय नौलो प्रस्तुति दिन रुचाउने कलाकार हुनुहुन्छ । यसपाली उहाँले सिटीका दृष्यचित्र र सम्पदालाई समेट्नु भएको छ । तर नौलो प्रस्तुतिका साथ ।
नेपाली कागजमा विरलै प्रयोग हुन्छ जलरङ । त्यसैलाई सम्भव गरेर देखाइदिनुभएको छ कलाकार जोजुले ।
पोखराका सशक्त कलाकार जोजु ‘न्यूरो आर्ट’ अवधारणालाई नेपालमा सशक्त बनाउँदै आउनुभएको छ । उक्त धारका कलालाई उहाँले नेतृत्व नै गरिरहनुभएको छ । यो धारको कलाले मानव मस्तिष्क, न्यूरोसाइन्स, मनोविज्ञान, र चेतन मनलाई कलात्मक रूपमा प्रस्तुत गर्छ ।
उहाँको अर्काे पहिचान हो ‘अल्कोहल इङ्क आर्ट’ । यो पनि उहाँले नै नेतृत्व गरिरहनुभएको छ भन्दा फरक पर्दैन । उहाँका यि कलाले मनोपरामर्शको काम गर्छ । कला थेरापीकै रुपमा उहाँले काम गर्दै पनि आउनुभएको छ ।
यी दुई कलाशैलीमा विज्ञानको संयोजन रहेको पाइन्छ । फरक र नयाँ प्रयोग गर्न रुचाउने जोजुले हाल दरबारमार्गमा जारी महिनाव्यापी कला प्रदर्शनीमा पनि जलरङको नयाँ प्रयोग गर्नुभएको छ । क्यान्भास वा आर्ट पेटरलाई छाडेर नेपाली कागजमा त्यसमाथि जलरङ पोतेर चित्र कोर्नु उहाँको नौलो प्रयोग हो ।
उहाँले भन्नुभयो, “म नयाँ तरिकाले काम गर्न चाहन्छु, त्यसैले यहाँ नेपाली कागजमा जलरङ प्रयोग गरेर कला बनाएको छु, यसको फाइदा के भने हाइलाइट निकाल्न सकिन्छ, यो तरिकाले गाह्रो विषय पनि वाटरकलरबाट बनाउन सकिन्छ है भन्ने देखाएको छु ।”

उहाँका कुनै कला एक्रेलिक कुनै अइल कलरका झैँ लाग्छन् । एक जना कार्टुनिष्ट अनुप तमु गुरुङ झट्ट हेर्दा उहाँका यहाँ प्रस्तुत कला एक्रेलिक माध्याम हो की झैँ देखिने बताउनुहुन्छ । उहाँले कलाकार जोजुले सुन्दर ढंगले कलामा नौलो प्रयोग गर्नुभएकोमा बताउनुभयो ।
जलरङमा पूर्ण अमूर्त कला खासै देखिँदैन । अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले त्यही जलरङका अमूर्त कला देखाउनुभएको छ । उहाँले रङलाई फटाएर गरिने विधि ‘ग्रानुलेसन’को प्रयोग गर्नुभएको छ । यो विधिमा रङलाई पानीले धकेलेर आकारमा ढाल्ने गरिन्छ । गुरुङका मुहार चित्र, अमूर्त र रियलिष्टिक कला यहाँ देख्न सकिन्छ ।
नेपालमा नयाँ प्रयोगका रुपमा उहाँले वाटरकलर बगाएर नियन्त्रित कला सिर्जना गर्नु आफैँमा चूनौतीपूर्ण अभ्यास हो । कलाकार गुरुङ भन्नुहुन्छ, “वाटरकलरको गुण भनेको एकले अर्काेलाई धकेन्दै अघि बढ्ने हो, जति रोकावट हुन्छ, पछाडिको दबावले धकेलिदिन्छ, यदी बाँध फुट्यो भने ठूलो शक्ति बोकेर निस्किन्छ नी, हो त्यसैगरी यो कलामा पनि पानीको दबावमा रङ फाटेर आइदिन्छ, यहाँ मैले नियन्त्रित रङ बगाएर चित्र सिर्जना गरेको छु ।”
चित्र अवलोकन गर्दा यी सिर्जनाहरु पूर्ण अमूर्त र साइकोलोजिकल देखिन्छ । तर कला पारखीले आआफ्नै तरिकाले बुझ्न सक्छन् । यहाँ फरकफरक व्याख्या गर्न सक्ने खालका सिर्जना छन् ।
साथमा साधुका मुहार चित्र पनि सुन्दर छन्।

‘मिष्टी हिल’ शीर्षक दिइएको उक्त नौलो जलरङ माध्यामका उहाँका कलामा पहाडमा हुस्सु र कुहिलो मडारिइरहेको झैँ लाग्छ । कुहिरो मडारिँदा पहाडलाई ढाक्ने र कतैकतै खुला रहने अवस्थाले प्रकृतिको सुन्दरतामा नयाँ आयाम थपिदिन्छ । उहाँका उक्त चित्रले त्यही पहाड र बादलुको घुम्टोलाई समेटेको अनूभूति मिल्छ ।
अर्का कलाकार दिराम पाल्पालीले जलरङकै माध्याममार्फत काठमाडौँका सम्पदालाई उठाउनुभएको छ । उहाँले दृष्यचित्रसहितका सम्पदाहरुलाई, र सांस्कृतिक विषयलाई १० वटा चित्रमार्फत प्रस्तुत गर्नुभएको छ ।
उहाँका सिर्जामा उपत्यकाका सम्पदाहरु देख्न पाइनछ । उहाँले भन्नुभयो, “उपत्यकाका सम्पदा संस्कृति र दृष्यचित्रलाई जलरङका माध्यामबाट प्रस्तुत गरेको छु ।”
‘द भिजन वान इसेन्स’ शीर्षकमा जारी कला प्रदर्शनी एक महिनासम्म चल्ने छ ।
