काठमाडौँ, २९ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज काठमाडौँको पूर्वीक्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मतबारे निरीक्षण भ्रमण गर्नुभएको छ ।
उहाँको नेतृत्वमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले गुह्ेश्वरीबाट सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी दिनुभएको हो ।
मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौँ उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण निर्माण तथा मर्मत सम्भार देखिएको समन्वययको समस्यालाई छिटै समाधान गरिने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुन्छ, त्यसैले दीर्घकालीन रुपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रुपमा गरिरहेका छौं, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्नेलगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बतढाइएको छ ।”
चावहिल—सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।