काठमाडौँ, २८ कात्तिक : हङ्गकङ्गको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई हङ्गकङ्ग ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।
नेपाली महावाणिज्य दूतावास हङ्कङले भोलि शनिवार (सन् २०२५ को नोभेम्बर १५)देखि लागू हुने गरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्गकङ्गको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ ।
महावाणिज्य दूतावासले आज एक विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्गकङ्गको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ ।
नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङ्गकङ्ग अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो ।
हङ्गकङ्ग अन्तरराष्ट्रिय विमानस्थल संसारकै व्यस्त विमानस्थलहरूमध्येको एक विमानस्थल हो । ट्रान्जिट भिसाको अनिवार्यताका कारण नेपाली नागरिकले हङ्गकङ्गमा ट्रान्जिट गर्नुपर्दा समस्या भोग्नु परेको थियो ।
हङ्गकङ्ग सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात् हङ्गकङ्ग ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ ।
साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरूलाई हङ्गकङ्ग ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ ।
महावाणिज्य दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङ्गकङ्ग सरकारको यो कदमले नेपाल र हङ्गकङ्ग सरकारको द्वीपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुरÞ्याउने हुँदा सराहनीय एवं प्रशंसनीय समेत रहेको छ । अतः नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावास हङ्गकङ्ग सरकारलाई धन्यवाद दिन चाहन्छ ।”