काठमाडौँ, २७ कात्तिक : जनार्दन शर्मा ‘प्रभाकर’ले नेतृत्व गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिँदै नेपाली राजनीतिको आधारभूत पुनःसंरचना आवश्यक भएको जनाएको छ ।
काठमडौँको संवाद डबलीमा आज शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त अभियानका नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपालका पुराना पार्टीहरु विघटित अवस्थामा पुगेको बताउँदै अब नेपालको समग्र राजनीतिक आधारभूत पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । उहाँले उपलब्धि संस्थागन गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न पर्नुपर्नेमा जोड दिनुभएको छ ।
पत्रकार सम्मेलनमा अभियानका नेता किरातीले भन्नुभयो, “समग्र राजनीतिमा भएका समस्यालाई पहिचान गर्दै, तिनिहरुको आमुल पुनर्संरचना गर्दै, नेपालका दीर्घकालीन र अल्पकालीन सबै समस्या समाधान गर्ने जनताको भावनाको जगमा टेकेको प्रगतिशील राजनीतिक शक्ति निर्माणमा एकजुट हुन आग्रह गर्दछौँ ।”
उहाँले भ्रष्टाचार र बेथितिको दलदलमा फसार्ई देशलाई यो अवस्थामा पु¥याउने नेताहरुलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न आह्वान गर्नुभयो ।
नेता किरातीले आफूहरुले माओवादी केन्द्रभित्र लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न र देशको समग्र अर्थतन्त्रको पुनर्संरचना लागि पहल गरेको तर नेतृत्वले बेवास्ता गरेको पनि बताउनुभयो ।
सात बुँदे अपिल जारी
अभियानले आज ७ बुँदे अपील समेत जारी गरेको छ । भ्रष्टाचार, विभेद र असमानताको रुपमा रहेका नेपाली समाजको मुख्य शत्रुमाथि विजय हासिल गर्न भन्दे अभियानले सांस्कृतिक समतामा आधारित समाज निर्माण गर्न, नेपाली राजनीतिको आधारभुत पुनःसंरचना गर्न, सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र बेपत्ता योद्धाहरुको सपना पूरा गर्न अनुरोध गरेएको छ ।
यस्तै अभियानले जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पार्न जनताको एकताको बलमा अहङ्कारी र असफलहरुलाई बिदा गर्न, देशभित्र र वाहिर जहाँसुकै रहेका नेपालीहरुले सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्न र जेनजी विद्रोहबाट स्थापित मुद्दाहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन चौतर्फी सक्रिय बन्न पनि अपिल गरेको छ ।
यस्तै अभियानले राष्ट्र, सभ्य नागरिक, बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेण्डासहित राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यप्रति प्रतिबद्ध रहेको पनि जानकारी गराएको छ ।