काठमाडौँ, २६ कात्तिक : सशस्त्र प्रहरी बल नेपालले बदलिदो सुरक्षा चुनौती र राजश्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई मुख्य सीमा नाकाहरुमा खटाएको छ ।
सीमा नाकाहरुमा खटाईएका वरिष्ठ उपरीक्षकहरुले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको इकाईमा बसी दैनिक तथा साप्ताहिक रुपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्नेछन् ।
निश्चित समयमा उनीहरुले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले उक्त कार्यलाई निरन्तर दिन उनीहरुका ठाउँमा अरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई जिम्मेवारी तोकी खटाउनुका साथै सीमा क्षेत्रमा हुने कुनै खबर, सूचना तथा गुनासो भएमा सर्वसाधारण नागरिकहरुले समेत प्रत्यक्ष रुपमा सम्पर्क गर्नसक्ने व्यवस्थ समेत मिलाईएको सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयले जनाएको छ ।
उहाँहरुले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजश्व चुहावट, चोरीनिकासी तथा पैठारीसम्बन्धी गैर कानूनी कार्यमा रोक लगाउनुका साथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउने छन् भने सीमासँग सम्बन्धित सूचनाहरुको अभिलेखीकरण तथा व्यवस्था समेत गर्ने छन् ।
उहाँ नेतृत्वको टोलीले लागूऔषध, हातहतियार ओसारपसार एवं फरार कैदी लगायत अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउनुका साथै भन्सार, राजश्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, स्थानीय व्यापारी एवं सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने जनाइएको छ ।
यस्ता कार्यहरुले भन्सार नाकाबाट बैध तरिका अवलम्वन गरी सामान आयात गर्ने प्रचलन कायम गराउन भन्सार कार्यालय लगायत सम्बन्धित निकायहरुसँग समन्वय गरी कार्य गर्ने वातावरण समेत सृजना हुने विश्वास लिइएको छ ।
को कहाँ खटिए?
वरिष्ठ उपरीक्षकहरुमध्ये कोशी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिगविजय सुवेदी तथा मधेश प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेललाई खटाइएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रविनराज कर्णजीत र सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमा नाकाको निगरानी गर्न सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लाई खटाइएको छ।
उनीहरुलाई उल्लेखित फोन नम्बरमा आम सर्वसाधारण तथा सरोकारवाला सबैले फोन गरेर राजश्व चुहावटलगायत सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधी नियन्त्रणमा सम्बन्धमा सम्पर्क गर्न सकिने छ ।
उनीहरु बोर्डर आउट पोस्टमा नै बस्ने र त्यहीँबाट सीमा क्षेत्रमा हुने अबैध गतिविधिको निगरानी र रोक्ने कार्य गर्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।