काठमाडौँ, २६ कात्तिक : थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजिका डिन प्रोफेसर संगम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको पहिरो, बाढीलगायतका विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा छलफल भएको हो ।
उहाँहरुबीच एआइ मोडुल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनहरुको विस्तृत क्षति अध्ययन (ड्यामेज ग्रेड डिटेक्सन) गर्नेबारे पनि छलफल भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
यसैगरी नेपाली विद्यार्थीहरुका लागि उक्त विश्वविद्यालयमा इन्टर्नसीप गराउन सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । यसका लागि प्राधिकरण र विश्वविद्यालयले सम्झौता गरेर सहकार्यलाई अघि बढाउने कुरा भएको प्रोफेसर श्रेष्ठले जानकारी दिनुभयो ।
छलफल पश्चात थाइल्याण्ड भ्रमणमा रहनुभएका कार्यकारी प्रमुख भट्टले उक्त विश्वविद्यालयको वाटर इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्टमा रहेको हाइड्रोलिक्स ल्याव र एआइ एण्ड सिमुलेसन ल्यावको पनि अवलोकन गर्नु भएको छ ।
डब्लुइएममा सिनियर ल्याव सुपरभाइजर डा.डिवेश खड्का र सिमुलेसन ल्यावका ल्यावोरेटोरी मेनेजर डा.सनित अरुणप्लोडले ल्यावले गरिरहेको अध्ययन अनुसन्धानबारे जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो चुनौतीका रुपमा देखा परेको सिमापार सूचना आदानप्रदानमा आर्टिफिसियल इन्टेलिजेन्सको कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे र विपद्को अध्ययन अनुसन्धानमा ड्रोन प्रयोगको संभाव्यताबारे पनि छलफल भएको प्रमुख भट्टले बताउनुभयो ।
एशियन विपद् पूर्वकार्य केन्द्रको बैठकमा सहभागी हुन बैंकक पुग्नुभएका कार्यकारी प्रमुख भट्टले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको पनि भ्रमण गर्नु भएको छ ।