काठमाडौँ, २० कात्तिक : काठमाडौँमा आउँदो आइतवारबाट पाँचदिने अन्तराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग नक्सालसँगको सहकार्यमा नेपालको विन्दु स्पेश फर आर्टिष्ट र जापानको जिन्जा ग्यालरीले आयोजना गर्ने ‘बोर्डरलेस स्माइल फर स्माइल’ शीर्षकमा हुने उक्त अन्तरराष्ट्रिय कला प्रदर्शनीमा ४ देशका ७५ वटा कलाकृतिहरु समावेश हुने जनाइएको छ ।
प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य सौरगंगा दर्शनधारीले आज पत्रकारहरुलाई कला प्रदर्शनीबारे जानकारी दिँदै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँका अनुसार प्रदर्शनीमा नेपाल, जापान, जर्मनी र कोरियाका कलाकारहरुका कलाकृति समावेश हुने छन् ।
उक्त कार्यक्रम संयोजक पृथ्वी श्रेष्ठले नेपाली कलाकारका ३५ र जापानी कलाकारका ३५ कलाकृति प्रदर्शनीमा रहने जानकारी दिनुभयो । उहाँले प्रदर्शनीमा सहभागी हुन जापानबाट कलाकारहरु पनि आउन लागेका बताउनुभयो ।
यस्तै जर्मनीका २ र कोरियाका ३ जना कलाकारका कलाकृति पनि प्रदर्शनीमा राखिने छ ।
जेनजी आन्दोलनपछि कलाका अन्तरष्ट्रिय गतिविधिहरु घटेकामा पुन यस्ता प्रदर्शनीहरु सुरु हुन थालेको छ ।
प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ । यस्तै पर्यटन प्रवद्र्धनका लागि पनि यो प्रदर्शनीले सहयोगसिद्ध हुने प्रतिष्ठानकी प्राज्ञपरिषद सदस्य दर्शनधारीले जानकारी दिनुभयो ।
केही अघि काठमाडौँमा अन्तरराष्ट्रिय कलाकारको सहभागितामा ट्याटु कला प्रदर्शनी भए पनि यो वर्ष कलासम्बन्धी ठूला प्रदर्शनी हुन सकिरहेका थिएनन् ।
