काठमाडौँ, १९ कात्तिक : काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने ९ जना चालकलाई आज पक्राउ गरिएको छ ।
उपत्यकाका विभिन्न क्षेत्रमा भएको सवारी साधनको जाँचका क्रममा ला.प.से. र मा.प.से. गरी विद्यालयका सवारीसाधनसहित अन्य सवारीसाधन चलाउने ९ जना चालक ट्राफिक नियन्त्रणमा लिएर कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
कारबाहीमा परेकामा लागुपदार्थ सेवन गरी सवारी साधन चालाउने ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
जसमा मादक पदार्थ सेवन गरी सार्वजनिक भाडाका सवारी साधन चलाउने २ जना, स्कुल बसका चालक २ जना र माईक्रो बसका चालक १ जना गरी जम्मा ५ जना तथा लागुऔषध सेवन गरी सवारीसाधन चलाउँदै गरेका भाडा बसका ४ जना चालकलाई ट्राफिक प्रहीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका चालकलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी कारबाही जारी रहे पनि अझै लापसे र मापसे गरेर यात्रुको जीवननै जोखिममा पारी सवारीसाधन चलाउने क्रम भने रोकिएको छैन ।
स्कुलका बालबालिका बोक्ने सवारीचालकले समेत मापसेर लापसे गरी गाडी चलाएको पाउनु झनै चुनौतीको विषय भएकाले विद्यालयहरुले आफ्ना चाकलहरुलाई सचेत गराउन जरुरी रहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।