काठमाडौँ, १९ कात्तिक : नेपालले चीनको १५औँ पञ्चवर्षीय योजनाबाट विकासका योजनामा धेरै कुराहरु अवलम्बन गरी लाभ लिनसक्ने आज काठमाडौँमा भएको एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ ।
फ्रेन्डस अफ सिल्क रोड क्लब नेपालको आयोजनामा आज यहाँ ‘चीनको १५औँ पञ्चवर्षीय योजना र नेपालको विकासमा यसको सान्दर्भिकता’ विषयक अन्तरक्रियामा सहभागीहरुले चीनको सन् २०२६ देखि लागू हुन लागेको उक्त आवधिक योजनाबाट नेपालले आफ्नो योजना विकासमा केही मोडल अवलम्बन गर्न सक्ने र त्यसबाट लाभ पनि लिनसक्ने औँल्याउनुभएको हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले चीन प्रविधिको विकास र लगानीमा अघि बढेको सन्दर्भ जोड्दै उक्त योजनामा विआरआईलाई अझै उच्चस्तरमा पुर्याउने नीति अवलम्बन गरिएकाले त्यसबाट नेपालले लाभ लिनसक्ने बताउनुभयो । भलै नेपाली राजनीतिक नेतृत्वले विआरआइप्रति कच्चा कुटनीति देखाएको उहाँको भनाई थियो ।
विश्वकै दोस्रो अर्थतन्त्र भएको मुलुक चीनबाट नेपालले ट्रेडमार्क, लगानी र जनताबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न सक्ने उहाँले औँल्याउनुभयो ।
चीनले ४० वर्षमा ८० करोड नागकिरलाई गरिबीको रेखामुनीबाट माथि उठाएको स्मरण गराउँदै उहाँले लगानी र विकासमा चमत्कार गरे पनि अझै असमानता दर भने माथि रहनु चीनका लागि चुनौती हो भन्नुभयो ।
कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै चीनमा प्रविधिको क्षेत्रमा अध्ययन गर्नुभएका गणेश पौडेलले चीन र नेपालबीच मैत्रीपूर्णसम्बन्ध विकास भएको ७० वर्ष भएको र चीनले आवधिक योजना लागू गरेको पनि ७० वर्ष नै भएको जानकारी दिँदै ७० वर्षमा चीन कहाँ पुग्यो र नेपाल कहाँ छ भनेर मूल्याङ्कन गनुपर्ने बताउनुभयो ।
उहाँले गरिबी र युद्धग्रस्त चीनले सातौँ आवधिक योजनासम्म कृषि आधुनिकीकरण र कलकारखानालाई जोड दिएको, १०औँसम्म उद्योगधन्दासहित देशलाई विश्वव्यापिकरणका केन्द्रित गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ११औँ देखि १४औँसम्ममा इनोभेसनमा केन्द्रीत भएको चीन अब नयाँ आविष्कार, उत्पादन र गुणस्तरमा ध्यान दिन थालेको छ । मरुभूमिमा सोलारमार्फत ग्रीनरी प्लान्टसमेत बनाएको चीनले अहिले इनोभेसन र ग्रीनरीमा जोड दिइरहेको उहाँले सुनाउनुभयो ।
चीनले रिसर्च र विकासमा कुल बजेटको ३.५ प्रतिशत खर्च गर्नु महत्वपूर्ण भएको उहाँले बताउनुभयो । मरुभूमिलाई अर्थतन्त्रमा परिणत गरेको बताउँदै उहाँले नेपालमा उद्योगको विकास गरी कृषि जोनमार्फत अर्थतन्त्र वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको पूर्वाधार विकास, युथ इम्पावरमेन्ट, आर्थिक सुधार, ग्रीन ट्रान्जिसन, जलविद्युत आयोजनाको विकास, इकोइन्डस्ट्रियल पार्क, डिजिटर ट्रान्स्फर्मेशनलगायत क्षेत्रको विकासमा चीनबाट सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राजनीतिक विष्लेषक तथा अध्यता झलक सुवेदीले ३०÷३५ वर्षमा चीनले आमूल परिवर्तन गरेको सन्दर्भ जोड्दै अहिले इनोभेसन र त्यसको प्रयोगमा अमेरिकासँग प्रतिष्पर्धा गर्नसक्ने भइसकेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “चीनले जुन ढाँचा बनाएर देशलाई अघि बढायो, उसका योजना अर्थपूर्ण हुन्छ, त्यसैको प्रतिफल हो अहिलेको चीन, उसले राज्य र निजी क्षेत्र सँगसँगै अघि बढाउने नीति अघि सारेको छ ।”
चीनले उच्च उत्पादन गरेर निर्यात गर्ने हाइटेक उत्पादनमा ध्यान दिन थालेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अमेरिका र यूरोप गइरहेको पुँजीलाई चीनले तान्न खोजिरहेको बताउनुभयो । भारत र चीन दुई शक्तिशाली देशबीचमा नेपाल रहेकाले दुवै शक्तिबाट लाभ लिएर आफ्नै मोडलमार्फत आर्थिक विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
त्रिभूवन विश्वविद्यालयका प्राध्यापक सञ्जय आचार्यले चीनको आउँदो वर्षदेखि कार्यान्वयनमा आउने १५औँ पञ्चवर्षीय योजनामार्फत गुणस्तर विकासमा सुधारको प्रयास थालेको बताउनुभयो ।
उहाँले चीनले अहिले उद्योगको आधूनिकीकरण, प्रविधिमा आत्मनिर्भर, दीगो सामाजिक सुरक्षा नीति निर्माणमा जोड दिएको बताउनुभयो । ‘नागरिक पहिले’ भन्ने नीति अवलम्बन गरेको चीनले प्रतिरक्षा तथा सुरक्षामा पनि प्रविधिको प्रयोग बढाउँदै लगेको उहाँले बताउनुभयो ।
जीवनस्तर विकास, ग्रीन डेभलभमेन्ट र आन्तरिक बजार विस्तारमा पनि चीनको जोड रहेकाले ती योजनामार्फत नेपालले धेरै कुराहरु सिक्न र लाभ लिनसक्ने उहाँको भनाइ थियो ।