काठमाडौँ, १८ कात्तिक : ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको जानकारी दिनुभएको छ ।
आज काठमाडौँमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री घिसिङले केही कामहरु भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले विद्युतीय गाडीहरुको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक उर्जाको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले अहिले चार्जिङ स्टेशनहरुको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको पनि जानकारी दिनुभयो ।
मन्त्री घिसिङले सिंचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिनुहुँदै सरकारको नीति सोलारको प्रवद्र्धन रहेको स्पष्ट पार्नुभयो ।
उहाँले हावाबाट विजुली निकाल्ने प्रविधिको विकास गर्न सरकारको ध्यान रहेको र यसका लागि काम गर्ने इच्छुक निजी क्षेत्रलाई आह्वान पनि गर्नुभयो । यसमा निजी क्षेत्रले खासै चासो दिएको नपाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वीन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।”
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विकटका र विपन्न परिवारका लागि ठूलो योगदान गरेकोमा प्रशंसा गर्दै मन्त्री घिसिङले अझै धेरै गर्न बाँकी रहेको औँल्याउनुभयो । उहाँले वैकल्पिक उर्जाको कार्यक्षेत्र धेरै बढेकाले अझै प्रभावकारी रुपमा काम गर्न जरुरी रहेको औँल्याउनुभयो ।
कार्यक्रममा मन्त्रालयका उर्जा सचिव चिरञ्जीवी चटौतले वैैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जलवायु परिवर्तनको असर कम गर्न, उर्जा दक्षता वृद्धि र कार्वन उत्सर्जन कटौतीमा ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो । उहाँले नागरिकमा विद्युतको पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष प्राप्त गर्न र ग्रामिण क्षेत्रमा विद्युत पुर्याउन केन्द्रको महत्वपूर्ण भूमिका हुने पनि बताउनुभयो ।
कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक उर्जाको विकासका लागि केन्द्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिँदै सौर्य उर्जा, सिंचाइ, खानेपानी, फलामे सुधारिएको चुलोलगायत क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
उहाँले आठवटा कार्वन उत्सर्जन कटौतीका आयोजनामा काम गरी ३६ मिलियन अमेरिकी डलर आम्दानी गर्न सफल भएको पनि जानकारी दिनुभयो ।
उहाँले हाल १३६ स्थानीय तहसँग साझेदारी भएको पनि बताउनुभयो । आउँदो ५ वर्षमा १० लाख घरधुरीमा पुग्ने लक्ष्य राखिएको बताउँदै कार्यकारी निर्देशक ढकालले सबै प्रकारका प्रविधि उपयोग गर्ने ३७ लाख घरधुरीमा पहुँच पुर्याउने योजना रहेको सुनाउनुभयो । यसबाट अहिले ४० हजार रोजगारी सिर्जना भएको पनि उहाँले जानकारी दिनुभयो ।
आज कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयनन योजनाको समेत विमोचन गर्नुभएको थियो । वार्षिाकोत्सवका अवसरमा आज विहान यहाँ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।