काठमाडौँ : विसं २०३५ साल ताक रेडियोको महत्व धेरै ठूलो थियो । धेरैका घरघरमा रेडियो बज्थे । रेडियो नभएकाहरु रेडियो भएकाका घरमा समाचार सुन्न जान्थे । जसको घरमा रेडियो हुन्थ्यो त्यो घरको शान नै बेग्लै । रेडियो भएका घरका व्यक्ति भद्रभलाद्मी गनिन्थे ।
स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना लक्का जवान । त्यसैगरी रेडियो बजाउने शोख चढेर होला उनले २०३५ साल वैशाख १५ गते छिमेकी दिलबहादुर रानाको घरबाट रेडियो र सुनका गहना चोरे ।
चोरी गरेका समयमा उनी २१ वर्षका थिए । उनीविरुद्ध नकबजनी चोरी मुद्दामा २०३५ सालमा मुद्दा पर्यो । त्यसको १० वर्षपछि स्याङ्जा जिल्ला अदालतले २०४५ मंसिर १६ गते उनलाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनायो ।
फैसला सुनाउँदा उनी अदालतमा थिएनन् । फरार सूचीमा नाम थियो । त्यसपछि उनी लगातार फरार भइरहे । वषौँ वित्यो तर उनलाई प्रहरीले समात्न सकेन । हाल उनी ६८ वर्षमा पुगेका थिए।
उनीमाथिको मुद्दा फैसला भएको अर्काे वर्ष विसं २०४६ मा जनआन्दोलन भयो। २०६२÷६३मा दोस्रो जनआन्दोलन भयो । राजतन्त्र समाप्त भएर देश गणतन्त्रमा गयो । राज्य संरचना फेरिए । अहिले भदौ २३ र २४ गते जेनजी आन्दोलन पनि समाप्त भयो ।
देशममा तीन÷तीनपटकको आन्दोलनले आमूल परिवर्तन हुँदा अब त्यो मुद्दा के बाँकी रहन्थ्यो । उनी यही कुरा सम्झँदै बसिरहेका थिए ।
आफूविरुद्ध मुद्दा परेको चाल पाएका लालबहादुर त्यो मुद्दाकै कारण समातिएला र कारागार जानुपर्दा भनेर सोचेका पनि थिएनन्। जे सोचेका थिएनन् त्यही भइदियो ।
२०४५ सालको मुद्दा फैसला कार्यान्वयन गर्न खटिएको स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङको टोलीले पक्राउ गर्न पुग्दा उनी झस्किए। प्रहरी स्रोतका अनुसार उनले नसोचेको कुरा भएको प्रतिक्रिया दिएका छन्।
घटनाको ४७ वर्षपछि उनलाई कात्तिक १७ गते प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेकामा अदालतले फैसला कार्यान्वयनका लागि कारागार पठाएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले थाहाखबरलाई बताए ।
उनले भने, ‘कानुनले जति वर्ष भएपछि पनि छाड्दैन है भन्ने सन्देश यो घटनाले दिएको छ, कानुन हातमा लिने काम र अपराधमा संलग्न हुने काम कसैले गर्नुहुन्न।’