काठमाडौँ, १३ कात्तिक : हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था, पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विभिन्न ४ जिल्लामा भारी वर्षा भइसकेको छ भने अन्य धेरै जिल्ला भारी वर्षाको नजिक पुगेका छन् । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार ललितपुर, सङ्खुवासभा, खोटाङ र ताप्लेजुङमा भारी वर्षा भइसकेको छ ।
प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा ललितपुरको लेलेमा ५६.८ र गोदावरीमा ५५ मिलिमिटर वर्षा भइरकेको छ । यस्तै खोटाङको जयरामघाटमा ५०, सङख्वासभाको खाँदवारीमा ५३.२, ताप्लेजुङमा ५०.८ मिलिमिटर वर्षा भएको छ । ५० मिलिमिटर भन्दामाथिको वर्षालाई भारी वर्षामा मापन गरिन्छ ।
यस्तै काठमाडौँ, मकवानपुर, उदयपुर, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा भारी वर्षाको नजिक पुगेको छ । प्राप्त वर्षाको ताजा विवरण अनुसार काठमाडौँमा ४३.२, मकवानपुरमा ४८.२, उदयपुरमा ४६.८ मिलिमिटर वर्षा भएको छ । वर्षा बढ्दो क्रममा रहेको जनाइएको छ ।
अहिले देशभर साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यामसम्म वर्षा भइरहेको छ ।
बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ । साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
विभागले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी गराएको छ ।