काठमाडौँ, १२ कात्तिक : जल तथा मौसम विज्ञान विभागले भोलि बिहीवार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारीसम्म वर्षा हुनेसहितको सावधानीको सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका मातहत इकाइमा सम्भावित विपद जोखिम आँकलन गर्दै समन्वयात्मक रुपमा विपद व्यवस्थापनको तयारीमा रहन निर्देशन दिइएको जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव रहेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” भारतको आन्द्र प्रदेशमा प्रवेश गरी विस्तारै कमजोर हुँदै उत्तर र उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू–भाग नजिक आएको र त्यसपछि पूर्वतर्फ सर्दै आज रातीदेखि सक्रिय हुँदै शनिवारसम्म नेपालको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने आज साँझ जारी सूचनामा जनाइएको छ ।
जसले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।
ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुपर्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । उहाँले शनिवारसम्म नै असर गर्ने जानकारी दिनुभयो ।
सोही सूचनाका आधारमा नेपाल प्रहरीले पनि आफ्नो तयारी गरेको प्रवक्ता घिमिरेले बताउनुभयो । यस्तै सशस्त्र प्रहरीले पनि आवश्यक तयारी गरेको जनाएको छ । मधेश प्रदेश सरकारले भने आजै उच्च सावधानी अपनाउने निर्णय गरिसकेको छ ।