काठमाडौँ, ११ कात्तिक : देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा र हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा र हिमपात मनाङ र मुस्ताङमा भएको छ ।
अहिले १०ः४५ बजेसम्मको अभिलेख अनुसार पछिल्लो १२ घण्टामा मनाङको चामेमा ४८.६ मिलिमिटर वर्षा (भारी वर्षा नजिक) भएको छ भने मुस्ताङको जोमसोममा ३६.६ मिलिमिटर वर्षा भएको छ ।
गएको १२ घण्टामा विशेष गरी गण्डकी प्रदेश धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू साथै कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका पहाडी र तराई भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भैरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि गण्डकी प्रदेशको मनाङ र मुस्ताङ आसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भईरहेको छ । अन्नपूर्ण आधार शिविर,गोरखाको उत्तरी भाग, मुक्तिनाथ क्षेत्रमा चर्काे हिमपात भएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले वर्षा÷हिमपात भैरहेको स्थानहरूमा थप वर्षा÷हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
उहाँले आज बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात÷वर्षाको पनि सम्भावना रहेको बताउनुभयो ।
मौसम बदली हुँदा देशभर नै चिसो बढेको छ ।