काठमाडौँ, १९ असोज : यो वर्षको वैशाखयता आजसम्म विभिन्न विपदजन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ ।
आजसम्मको विवरण अनुसार अन्य २७ जना वेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आजमात्रै ४४ जनाको मृत्यु भएको र ५ जना बेपत्ता भएको बताउनुभयो । सबैभन्दा बढी आज इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको पनि उहाँले बताउनुभयो । उहाँले यो पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको पनि जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार वैशाख यता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो ।
प्राधिकरणले आज सार्वजनिक गरेको विपदजन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट ६, आगलागीबाट २३, हावाहुरीका कारण ८, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ ।
यस्तै बाढीबाट २३ जना, पपहिरोका कारण ३ जना र जनावरको आक्रमणबाट १ जना वेपत्ता भएका छन् ।
अहिलेसम्म ४ हजार ६५ वटा विपदजन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएको पनि मतले बताउनुभयो । कुल ७ हजार २११ प्रिवार ती विपदबाट प्रभावित भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।