काठमाडौँ, १७ असोज : नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गतेमात्रै देशभर फैलिएको मनसुन बाहिरिन पनि केही समय ढिला हुने भएको छ ।
मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात हिजो बिहीवार थियो तर मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा मनसुन प्रवेश गरेको थियो । बाहिरिन पनि केही समय ढिला हुने भएको हो ।
मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको अर्यालले बताउनुभयो ।
वरिष्ठ मौसमविद् अर्यालले आज बेलुका चिसो बढ्न थालेपछि नै वर्षाका गतिविधि बढ्ने पनि जानकारी दिनुभयो ।
उहाँले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमश सुधार हँदै जाने पनि बताउनुभयो । “त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ”, मौसमविद अर्यालले भन्नुभयो ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । असार ६ देखि भने मनसुन देशभर फैलिएको थियो ।