काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले आज साँझ मौसमसम्बन्धी सूचना अध्यावधिक गर्दै आज रातिका लागि बंगालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीको प्रभाव केही कमजोर भएको जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज राति ठूलो भारी वर्षा गराउने प्रणाली नरहेको तर भोलि शनिवार भने अति भारीसम्म वर्षा गराउने गरी मनसुन सक्रिय हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आज राति देशभर साधारणतया बदली रहने र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
तर कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना हुनसक्ने तर प्रणाली भने कमजोर रहेको उहाँले बताउनुभयो ।
भोलि शनिवार दिउँसो भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो ।
यस्तै मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको उहाँको भनाइ छ ।
भोलि राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने जनाइएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि विभागले आज राति सार्वजनिक गरेको अध्यावधिक विवरणमा उल्लेख छ ।
असोज १९ गते (आइतवार)
दिउँसोः देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेश,मधेश प्रदेश र बागमती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।
रातीः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।