काठमाडौँ, १६ असोज : जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि थप बढ्ने जानकारी गराएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणले आवश्यक पूर्वतयारीमा जुट्न, प्रतिकार्यका लागि तयारीमा रहनसमेत सम्बद्ध निकायहरुलाई अनुरोध गरेको छ ।
प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले सर्वसाधारणका लागि उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने निकायलाई तोकिएको जिम्मेवारी अनुसार सावधानी अपनाउन तथा प्रतिकर्याका लागि तयारीमा रहन अनुरोध गरिएको बताउनुभयो ।
विभागले खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको संभावना रहेको विशेष बुलेटिन जारी गरी जनाइसकेको छ ।
नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको छ ।
विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको सार्वजनिक बुलेटिनमा उल्लेख छ ।
त्यसैले उक्त समयमा सतर्कता अपनाउनु हुन र पूर्वतयारी तथा पूर्वकार्य गर्न भनिएको प्राधिकरणकी प्रवक्ता महतले बताउनुभयो ।
उहाँका अनुसार प्राधिकरणले उल्लिखित अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिन र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तै डुबान हुने बस्तीका बासिन्दाहरुले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्न पनि भनिएको छ ।
पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहन पनि प्राधिकरणले सार्वजनिक अनुरोध गरेको छ ।