काठमाडौँ, ६ असोज : जेनजी पुस्ताका नाममा भएको आन्दोलनमा गएको भदौ २४ गते कारागारबाट भागेका दुई कैदी (अमेरिकन नागरिक) आज पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार आन्दोलनका मौका पारेर भागेका कैदी अमेरिकन नागरिक मिचेल नरमान टेइलर र जशन लोयड मोडीलाई पक्राउ गरिएको हो ।
ब्यूरोका निमित्त प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले दुवैजनालाई आज काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
मिचेल कास्की अदालतको आदेशले बाल यौन दुराचार मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन् भने जशन काठमाडौँ जिल्ला अदालतको आदेशले जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।
उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाइने ब्यूरोका निमित्त प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
कारागार व्यवस्थापन विभागका अनुसार जेनजी आन्दोलनमा भागेका मध्ये ६ हजार बढी कारागार फर्किसकेका छन् भने अझै ८ हजारभन्दा बढी कैदीबन्दी फर्कन बाँकी छ ।
उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । कारागारका कैदीबन्दीहरु आन्दोलनका कारण कारागारमा आगजनी र तोडफोड हुन थालेपछि भागेका थिए । देशका २८ वटा कारागार र ९ वटा सुधार गृहबाट कैदीबन्दीहरु भागेका थिए ।
कतिपय आफैँ फर्केर आएका हुन् भने कतिपयलाई प्रहरीले पक्राउ गरी कारागारमा ल्याएको हो । नेपालमा कारागारमा ३० हजार ६०० बढी कैदी बन्दी रहेका थिए । त्यसमध्ये १४ हजार ५५५ जना भागेका थिए ।