काठमाडौँ, ५ असोज : गृहमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै मुलुकमा देखा परेका विभिन्न अप्ठ्यारा परिस्थितिमा आईपरेका चुनौतीहरुलाई परास्त गर्दै आएको स्मरण पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताको जीवन रक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले समेत राम्रोसँग बुझेका छन्, आगमी दिनमा समेत कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।”
सशस्त्र प्रहरी बल नेपालले प्राथमिकीकरण गरेका कार्यादेशअन्तर्गत सीमा सुरक्षा, राजस्व संकलन, विपद व्यवस्थापनमा सक्रिय भई सीमा स्तम्भ मर्मत तथा सम्भार, सीमापार अपराध नियन्त्रण, अवैध चोरीपैठारी, मानव वेचविखन, हातहतियार तथा लागूऔषधको ओसारपसार नियन्त्रणमा डेडिकेटेड रुपमा परिचालन हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षा अनुरुप सुरक्षा प्रदान गर्दै आईरहेको बताउनुहुँदै संगठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचालित हुँदै आईरहेको बताउनुभयो ।
उहाँले राजश्व चुहावट नियन्त्रण र वैध व्यापार प्रवद्र्धनमार्फत राज्यको अर्थतन्त्रमा योगदान पु¥याउन सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्दै आईरहेको उल्लेख गनुहुँदै सीमा क्षेत्रमा आवश्यक जनशक्ति र बिओपीको संख्या बृद्धि गर्नसके उल्लेखित उपलब्धिमा थप उल्लेखनिय बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।