काठमाडौँ, ५ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको सार्वजनिक तथा निजी भौतिक संरचनाहरुमा पुगेको क्षतिको आकलन तथा लेखाजोखा गर्ने सम्बन्धमा मानक प्रारुप तयार पार्न समिति गठन गरेको छ ।
आज सिंहदरबारमा बसेको बैठकले क्षति आँकलनका लागि मानक प्रारुप तयार गर्न तथा क्षतिको विवरण संकलनका लागि उपयुक्त र द्रुत माध्यमको निक्र्योल गर्न प्राधिकरणका प्राविधिक सहसचिव ई.अमृत श्रेष्ठको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरेको हो ।
समितिमा राष्ट्रिय योजना आयोग, शहरी विकास तथा भवन निर्माण विभाग, पुरात्व विभागका प्रतिनिधि सदस्य रहनेछन् ।
त्यसैगरी नेपाल इन्जिनियर्स एशोसिएसन, स्ट्रक्चरल इन्जिनियर्स एशोसिएसन नेपाल, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इञ्जिनियर्स नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपालका एक–एक जना प्रतिनिधिहरु पनि उक्त समितिमा रहेका छन् ।
बैठकले क्षति भएका सरकारी र निजी भवनहरुमा प्रवेश गर्दा वा पुनः प्रयोग गर्दा थप मानवीय क्षति हुनसक्ने भएकाले प्राविधिक परीक्षण गरी÷गराई सुरक्षित भएको सुनिश्चित भएमा मात्र प्रयोगमा ल्याउन सरोकारवालामा अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
साथै, बढी क्षति भएका संरचनाहरुको अध्ययन नगरी नगरी रंग रोगनलगायतका कार्यहरुसमेत नगर्न, नगराउन आग्रह गर्ने निर्णयसमेत भएको छ
।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टको अध्यक्षतामा बसेको आजको बैठकमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारी, पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग लगायतको उपस्थिति थियो ।
त्यसैगरी, बैठकमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख डा.संजय उप्रेती, थापाथली क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.रामप्रसाद न्यौपाने, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघ र प्राविधिक समितिमा रहेका संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिस्तरबाट समेत सहभागिता थियो ।