काठमाडौँ, ३ असोज : साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक भएको छ ।
पुस्तकमा स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको छ ।
पुस्तकबारे लेखक सीमा आभास भन्नुहुन्छ, “हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।”
विगतका भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रकाशक बुकहिलले जनाएको छ ।
बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले भन्नुभयो, “एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन–जी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ ।”
कथा र कवितामा कलम चलाइरहहनुभएकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुङ्कारलाई प्रस्तुत गरिएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रहेको छ ।