काठमाडौँ, १ असोज : काठमाडौँ प्रहरीले बीच बीजक विनाका सुनचाँदीहरु खरिद नगर्न उपत्यकाका व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
जेनजीको आह्वान भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा विभिन्न क्षेत्रबाट सुनचाँदीहरु लुटिएको सूचनाहरु आइरहेकाले कुनै पनि बीलबीजक विनाका सुनचाँदी खरिद नगर्न र तयसरी ल्याइएमा प्रहरीलाई जानकारी दिन अनुरोध गरिएको जिलल प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
राजधानी काठमाडौँका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घर/भवनमा समेत आगजनी तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरी लगेको विवरणहरू प्राप्त भइरहेको पनि उहाँले बताउनुभयो ।
लुटेराले राष्ट्रिय बाषिज्य बैंकबाट समेत १८ किलो बढी सुन लुटेका छन् । व्यक्तिका घरबाट समेत लेटेराहरुले ठुलो मात्रामा सुनचाँदी लुटेका छन् ।
काठमाडौँ प्रहरीले आजै एक सूचना जारी गरी भनेको छ, “उक्त आपराधिक समूहले लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरीद नगर्न हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।”
प्रवक्ता बोहराले यस सूचनाको अवज्ञा गरी यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत चेतावनी दिनुभएको छ ।
साथै यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन पनि उहाँले अनुरोध गर्नुभएको छ ।