काठमाडौँ, २९ भदौ : आजदेखि देशभर मौसम बदली सुरु भइ ठाउँठाउँमा भारीसम्म वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले लगातारको झरी नभए पनि बदली भने देशभर हुने तर भारी वर्षा भने खण्डित हुने जानकारी दिनुभयो । उहाँले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको भए पनि जलवाष्पयुक्त हावा अरब सागरबाट र बंगालको खाजीबाडीबाट आइरहेकाले वर्षा गराउने प्रणाली विकास भएको बताउनुभयो । त्यसका साथै केतैकतै स्थानीय प्रणालीसमेत विकास भएका छन् ।
आज साँझ चितवन र नवलपुर जिल्ला आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई नारायणघाट र डण्डामा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
उक्त प्रणाली पूर्वदिशामा सर्ने क्रममा रहेको छ । पछिल्लो ३ घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी, गोरखा कास्कीमा वर्षा भएको छ ।
भोलि वर्षा अझै बढ्ने
अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि भदौ ३० गते देशभर बदली रही लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।