काठमाडौँ, २९ भदौ : सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोहरूको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित ६ बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।
आज उहाँको अध्यक्षतामा बसेको बैठक बसेको थियो । उक्त समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय–प्रमुख तथा व्यवसाय राष्ट्रिय महासंघ अध्यक्षलगायत सरोकारवालाहरु सहभागी हुनेछन् ।
यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट वाहिर जाने सवारीसाधनहरूको प्राविधिक जाँच एवं आवश्यकता अनुसार यात्रु सहायता कक्षहरु निर्माण गर्ने निर्णइ पनि भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राससलाई बताउनुभयो ।
उहाँका अनुसार बैठकले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट वाहिर जाने यात्रुहरूलाई सहजैँ गन्तव्य स्थलसम्म जान सक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीका साधनहरु एवं कार्यालयहरुको एकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामाग्रीहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद् लगायतबाट उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामाग्रीहरू सावारीका साधनहरूबाट ओसार पसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय पनि गरेको सिटौलाले बताउनुभयो ।