-डिल्ली आचार्य
काठमाडौँ, २९ भदौ : आन्दोलनपछि विभिन्न ठाउँमा कार्यालयमा तोडफोड र आगजनी गरेको देखिन्छ। यो किन गरिन्छ भन्ने प्रसंग नउठाई अहिले केही साथीहरूले यसबारेमा जबरजस्ती गलत भाष्य निर्माण गर्न खोज्दै छन्। तिनीहरूको साह्रै फट्याइँ देखेपछि वास्तविकता खोतल्नैपर्छ।
किन हुन्छ त्यस्ता घटना?
आन्दोलनका वेला तोडफोड र आगजनी भएका हुन्छन्। सामान्य तोडफोड ती संस्थासँग आक्रोशित पक्षले गर्छ। सेवा पाउने क्रममा भएका असन्तुष्टि पोख्न सामान्य तोडफोड गर्छन्, अनि फर्कन्छन्। त्यसमा कुनै संगठित पक्ष संलग्न हुँदैन। सामान्य रिस हुन्छ। रिस मर्छ अनि फर्कन्छन्।
आगजनी र विध्वंस गर्नेहरू भने संगठित रूपमा आएका हुन्छन्। उनीहरूको उद्देश्य असन्तुष्टि पोख्ने मात्रै हुँदैन, उनीहरू त आफ्नो प्रमाण नष्ट गर्न खोज्ने अपराधी हुन्छन्। आन्दोलनपछि विगतमा आफूले गरेका अपराध लुकाउन अवाञ्छित तत्त्वहरू सल्बलाउन थाल्छन्।
आफूले गरेका भ्रष्टाचार, ठगी, गैरकानूनी कामका प्रमाण नष्ट गर्ने मौकाको खोजीमा हुन्छन्। आफूहरूको शासन सत्ता रहुन्जेल मैमत्त हुन्छन्, आफूहरूलाई कसैले कारबाही गर्ला भन्ने सोच्दैनन्। विद्रोह भएपछि ती प्रमाण नष्ट गर्न आन्दोलनकारीको समूहमा मिसिन्छन्।
अदालतमा मुद्दा चलिरहेका पक्षले प्रमाण नष्ट गर्न अदालतमा आगजनी गर्न थाल्छन्। शासन सत्तामा भएकाहरूले आफ्ना प्रमाण नष्ट गर्न सरकारी कार्यालयमा आक्रमण गर्छन्।

अहिले त नयाँ पुस्ताको प्रमुख माग नै भ्रष्टाचारको विरोधमा थियो। उनीहरूले २०४६ सालयताका सबै भ्रष्टाचारीलाई कारबाही गर्ने माग गरेका थिए। एक्कासी आन्दोलन सशक्त भएपछि त्यस्ता अवैध र गैरकानूनी काम गरेका भ्रष्टहरू अत्तालिएका थिए।
उनीहरूले त्यही मौका छोपे। आन्दोलनकारीलाई ती कागजात कहाँ हुन्छन् भन्ने थाहै हुँदैन। सत्ता सञ्चालनको अनुभव रहेका पक्ष ती कागजात राखिएका ठाउँ र नष्ट गर्नुपर्ने प्रमाणको बारेमा जानकार हुन्छन्। सोमवारको आन्दोलन उठेपछि दोषीहरू तिल्मिलाए।
मंगलवार भएको विद्रोहमा घुसपैठ गरे र प्रमाण नष्ट गरे। वास्तविकता नखुलाई आगजनी र तोडफोडको कुरा नखोली एकोहोरो गाली गर्ने विद्वान्, विश्लेषक र सञ्चारकर्मी पनि तिनै प्रमाण नष्ट गर्नेका पक्षधर हुन् जस्तो देखिने क्या।
यसरी अदालतमा आक्रमण गर्ने कुन पक्ष होला, सरकारी कार्यालयमा आगजनी गर्ने पक्ष कुन होला भन्ने थाहा हुन्छ।
