काठमाडौँ, २४ भदौ : आज हिवानै देखि जेनजी पुस्ता सडकमा आएका छन् । सरकारको निषेधाज्ञाको आदेशको परबाह नगरी आन्दोलन चर्काइरहेका छन् । ठाउँठाएँमा झडप समेत भइरहेको छ भने धरपकडमा कडाई गरिएको छ ।
यता नेपाल प्ररीले जेनजी पुस्ताको नाममा भएको आन्दोलन हिंसात्मक बनेपछि नेपालका सबै सुरक्षा निकायलाई हाइ अलर्ट हुन निर्देश गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
हिजो भएको हिंसात्मक प्रदर्शनमा काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो । सुरक्षाकर्मीसहित ४०० भन्दा बढी घाइते भएका छन् । हिजो देशका धेरै जिल्लामा प्रदर्शन भएको थियो भने काठमाडौँ, कास्की सुनसरीलागतय जिल्लामा झडप भएको थियो ।
आज पनि जेनजी पुस्ताको नाममा विहानैबाट प्रदर्शन हुन थालेको छ । उपत्यकाका तीनै जिल्ल्ला काठमडौँ, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ । यस्तै रुपन्देशी र कास्कीमा पनि विहान ८ बजेदेखि नै निषेधाज्ञा जारी भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदर्शनमा विभिन्न स्वार्थ समूहबाट भएको घुसपैठका कारण थप हिंसात्मक घटना घट्न गई दुःखद् परिस्थिति सिर्जना भएको प्राम्भिक निष्कर्ष निकालिएको बताउनुभयो ।
उहाँले परिस्थितिलाई स्वार्थसिद्धका लागि प्रयोग गर्ने व्यक्ति, समूहप्रति सचेत रहन अनुरोध गर्नुभएको छ ।
यस्तै उहाँले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गर्नुभएको छ ।