रत्ननगर, २२ भदौ : चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ ले स्थानीय नागरिकका लागि आयोजना गरेका कामले चर्चा बटुलेको छ ।
विगत केही वर्षदेखि नै उक्त वडाले सुत्केरी गर्भवती र असहाय, असक्त, तथा गरिब परिवारका लागि केही न केही काम गर्दै आएको छ ।
सोही कार्यक्रमअन्तर्गत यसपालि पनि वडाले सुत्केरी र गर्भवती महिलालाई कुखुराको भाले, घिउ, अण्डासहितका पौष्टिक आहार वितरण गरेर आफ्नो अभियानलाई निरन्तरता दिएको छ ।
रत्ननगर १५ का वडाध्यक्ष आसिक तामा भन्नुहुन्छ, ‘निर्वाचित भएदेखि नै यो कार्यक्रमलाई जोडेर अघि बढाएका छौँ,समाजमा जसलाई प्राथमिकता राखेर आयोजना गरिएको छ, उहाँहरु सन्तुष्ट हुनुहुन्छ।’
वडा कार्यालयको बजेटबाट १० जना सुत्केरी र ६ जना गर्भवती गरी १६ जनालाई कुखुराको भाले, २ किलो नौनी घ्यू, एक क्रेट अण्डा, १ किलो मह, मुङको दाल, चना तथा व्यक्तिगत सरसफाइका सामग्री दिइएको छ ।
यो कार्यक्रमले नागरिकलाई स्वास्थ्यसँस्थासँग जोड्ने काम गरेको उहाँले बताउनुभयो । गर्भवती हुँदा स्वास्थ्य संस्थामा नजाने महिलाहरू अहिले यो कार्यक्रमले अस्पताल जाने गरेका पनि उहाँले सुनाउनुभयो । त्यो पनि खुसीका साथ ।
आइतवार एक समारोहका बीच वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वडाध्यक्ष आसिक तामाङले सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार वितरण गर्नुभयो ।
वडाध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न उक्त कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले स्थानीय किसानले उत्पादन गरेका कुखुरा, अण्डा, नौनी घ्यूलगायत सामग्री खरिद गरी वितरण गरिएकाले एम समुदायले आयआर्जन गरेका र अर्काे समुदायले लाभ लिएका छन् ।
सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको जिम्मेवारी रहेको भन्दै वडाध्यक्ष तामाङले पूर्वाधार निर्माण मात्र विकास नभइ नागरिकको स्वास्थ्य र सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण भएको बताउनुभयो ।
माधवपुरवासीको सुखदुखमा वडा कार्यालय सधैं साथमा रहेको बताउँदै उहाँले वडाले सुत्केरी र गर्भवतीलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्स–रेलगायतका आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले तीन वर्षको अवधिमा १५५ जना सुत्केरी र गर्भवती महिलालाई पोषण सामग्री वितरण भइसकेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरू शिव तिवारी, ईमप्रसाद पन्त, लिलादेवी पोखरेल, रुकमाया परियार, वडासचिव नवराज तिवारीलगायतको सहहभागिता थियो ।