विश्व परिवेषमा पछिल्लो समय उच्च प्रविधिको विकाससँगै छापा पत्रकारिता अनलाइन पत्रकारितामा रुपान्तरण हुने क्रम तिब्र छ ।
अझ नेपालमा अत्यधिक अनलाइन सञ्चालनको बाढी नै आएको छ । तर, समाचार लेखनी र प्रस्तुतीमा छापाभन्दा खासै फरक छैन् । जसमा पहिले छापा पत्रिकामा लेखिए झैँ लामा फिचर तथा समाचार कथाहरुले बढी स्थान पाउने गरेका छन् ।
यसले अनलाइन सञ्चारमाध्यमलाई नाम मात्रको फरक देखाएको छ । लेखनीको धार र शैली उही पुरानै पाइन्छ । कतिपयले स्रोत, साधन र आवश्यक प्रविधिको अभावका कारण जसरी चल्छ त्यसरी चलाइएको भन्न पनि छाडेका छैनन ।
आम मानिसको सहज पहुँचमा पुग्ने पत्रकारका हातमा रहेका सरल र सहज प्रविधियुक्त मोबाइललाई चटक्कै बिर्सिइएको छ ।
परम्परागत ढाँचामा चल्दै आएको व्याख्यात्मक समाचार लेखनलाई अब मोबाइल पत्रकारितामार्फ समाचारका आकर्षक कथा भन्ने अवधारणा अपनाउँदै लेखनीलाई आम जनताको सहज पहुँचमा पुर्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
मोबाइल फोन कुरा गर्ने, फोटो तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्टिने माध्यममात्र हैन । यसको उच्चतम प्रयोग समाचारलाई सरल कथा लेखन र बाचनमा हुनुपर्नेमा नेपालमा खासै ध्यान दिइएको पाईँदैन । केही मिडियाले मल्टीमिडियाका कन्टेन्ट उत्पादन गर्न मोबाइलको भिडियो र फोटोहरु प्रयोग गरेपनि कथा बाचनलाई पूर्ण रुपमा मोबाइलमा निर्भर गराउन सकेका छैनन् ।
यस्तै अन्यौललाई चिर्न बुधबार काठमाडौँमा सञ्चारकर्मी र विज्ञहरुले बहस गरेका छन् । छापामा छापिएका समाचारलाई मोबाइल कथामा रुपान्तरण गरेर आम मानिसको मन छिटो जित्न सकिने जिकिर विज्ञहरुले गरे ।
प्रविधिगत सञ्चारको स्वरुप फेरिएपनि समाचार कथा लेखनको शैली उही पुरानै रहेको टिप्पणी विज्ञहरुल गरेका हुन् ।
कान्तिपुर सिटी कलेजको आयोजना तथा क्यानडियन दूतावास, न्यूज रिल एसिया र मिडिया एक्सन नेपालको सहकार्यमा बुधबार आयोजित विशेष सेमिनारमा बोल्दै मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारले बोक्ने मोबाइलमार्फत नै परम्परागत लेखनीलाई भर्चुहल मिडिया कन्भर्जेन्समा जोड्न सकिने प्रष्ट्याए ।
दूतावासकी सञ्चार तथा मिडिया सल्लाहकार अर्चना मिराजकरले प्रजातन्त्रको प्रमुख खम्बाका रुपमा पत्रकारिता क्षेत्र रहेकाले समयसँगै लेखनीको बदलावमा मोबाइल कथा लेखन सहयोगी हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “समाचारमा मानिसका भावनाहरु, कथाहरु र चासोहरुले निकै ठूलो अर्थ राख्छ ।”
उनले भनेजस्तै अक्षरका कथामा मानिसका सबै भावना र चासोका बिषय प्रष्ट नझल्किन पनि सक्छ । अब समाचारलाई नन फिक्सनबाट फिक्सनतिर लैजान मोबाइल पत्रकारिताको कथा लेखनीले सघाउन सक्ने कान्तिपुर सिटी कलेजका प्राध्यापक डा.जनार्दन बिष्टले बताए । यो बिषय आधुनिक मिडियाका लागि चुनौतिपूर्ण भएपनि मानिसका कथाहरु भन्न यो माध्यम सहज हुने दाबी गरे ।
उक्त सत्रमा प्रमुख प्रशिक्षकका रुपमा न्यूज रिल एसियाका संस्थापक सम्पादक तथा निर्देशक बिशाल अरोराले परम्परागत लेखनीमा हुने सूचनाको बोझ अबका मानिसले थेग्न नसक्ने औँल्याए । उनले थपे, “मानिसहरु धेरै व्यस्त हुन्छन्, लामा हरफहरु पढ्न फुर्सद हुन्न त्यसैले उनीहरुको ध्यान समाचारमा खिच्न छोटा मोबाइल स्टोरीहरुले सघाउँछ ।”
छापामात्र हैन टेलिभिजनमा देखाइने ठूला स्क्रिनका लामा कुराकानीले मानिसलाई तानिराख्न नसक्ने अवस्था आइसकेकाले पनि मोबाइलबाटै छिटो, सहज, सरल र सस्तो लगानीमा कथाहरु सिर्जना गर्न सकिने अनुभव उनले सहभागिमाझ साटे ।
यसले सामाजिक सञ्जालमा आइरहने प्रोपोगण्डायुक्त समाचारहरुलाई चिर्दै सजिलै मानिसको कथा बुझ्न र समाधानका उपाय पत्ता लगाउन सकिने दाबी पनि गरे ।
यसका लागि नयाँ समाचारको ढाँचा र त्यसमा कसरी काम गर्ने भन्ने सिकाइमा सहभागिहरुले बहस गरे । न्यूज रिलकै दुई जना पत्रकार हर्षिता राठौर र शुरभी सिंहले मोबाइलबाट बनाइएको समाचार कथा प्रस्तुत गर्दै अनुभव सुनाएका थिए ।
कान्तिपुर सिटी कलेजका तर्फबाट डा.दिपक बिक्रम थापा क्षेत्रीले सत्रको सहजीकरण गर्दै पत्रकारमात्र नभएर अन्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुका लागि पनि मोबाइल पत्रकारिताको कथा बाचन तथा लेखन शैली उपयोगी हुने बताए ।
उक्त कार्यक्रममा पत्रकारहरुसहित पचासजनाभन्दा बढीको सहभागिता रहेको थियो ।