नेपाली समुदायले मनाउने प्रमुख पर्वहरु दशैँ, तिहार तथा छठ नजिकिदै गर्दा सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी तिब्र पारेको छ ।
जसका लागि सरकारले आउँदो भदौ ३० गतेदेखि लागु हुनेगरी देशभर एकसय ५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
सरकारले आफ्नो मातहत रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले संयुक्त रुपमा सुपथ मूल्य पसलमा सहुलियत मूल्यमा दैनिक खाद्य तथा उपभोग्य वस्तु बिक्री वितरण गर्नेछ ।
सुपथ मूल्य भन्ने वित्तिकै सामान्य पसलहरुमा पाइनेभन्दा कम मूल्यमा चाडवाडमा दैनिक उपभोग्य वस्तु तथा सामग्रीहरुको बिक्रिवितरण भन्ने बुझिन्छ ।
यसैलाई चरितार्थ गर्दै सरकारले सञ्चालन गर्ने सुपथ पसलमा नुनदेखि खसी, च्याग्रासम्मका सामग्रीलाई सुपथ रुपमा सर्वसाधारणमाझ पस्कने जनाइएको छ ।
जस अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलमा विभिन्न प्रकारका चामल, चिनी, दाल, पिठो र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने जनाइएको छ ।
त्यसैगरी खाने तेलमा तोरी, सनफ्लावर, भटमास, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने बताइएको छ ।
कम्पनीले जिउँदो खसी, बोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ भने कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ ।
यस्तै साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा किलोको ७ रुपैयाँ छुट दिने उल्लेख गरिएको छ ।