आउँदो २४ घण्टामा वाग्मती र सुदुरपश्चिम प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने भएकाले मौसमी सूचना लिएर काम गर्न जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपालबाट सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ। अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेकाले मनसुन सक्रिय अवस्थामै छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित अहिले हल्का देखि मध्यम वर्षा भइरहेको छ।
कस्तो रहन्छ त आगामी तीन दिन
सोमबार देशभर बदली कायम रही कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने जनाइएको छ ।
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको छ। राती केही सामान्य र मध्यम वर्षा कायम रहने भएको छ ।
मंगलबार देशभर साधारण बदली रही धेरैजसो भू-भागमा मध्यमसम्मको वर्षा हुने भएको छ ।
रातमा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार देशभर बदलीसँगै सबै प्रदेशमा मध्यमसम्मको वर्षा कायम रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका एक-दुई स्थानमा भारी हुने सम्भावना प्रबल रहेको महाशाखाले जनाएको छ