नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारदेखि ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२’ सुरु भएको छ ।
सम्मेलनको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली तथा अग्रज कलाकार श्यामवदन श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा कुलपति नारदमणि हार्तम्छालीले कलामार्फत देशको समृद्धिको विचार मन्थन गर्ने सम्मेलनमा सातै प्रदेशका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको बताए ।
उनले ललितकलामा सौन्दर्यशास्त्र, उपयोगिता र संस्कृति, यी तीन पक्षमा त्रिकोणात्मक सन्तुलन राखी छलफल हुनुपर्ने बताए ।
उपकुलपति लालकाजी लामाले यस सम्मेलनले नेपाली ललितकला क्षेत्रका उन्नयनमा थप सहयोग गर्ने बताउनुभयो । उहाँले सबैको हातेमालोबाट यस अभियानले सार्थकता पाउने जिकिर गरे ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला तथा पर्यटनसँग कृषि, प्रकृति र संस्कृतिलाई जोडेर लैजानुपर्ने बताउँदै उनले त्यसबाट सिर्जनशील उद्योगको विकासमा सहयोग पुग्ने धारणा राखे ।
साथै उनले विरासतदेखिको संस्कृतिको पुस्तान्तरण र नवयुगको संस्कृति निर्माणमा यस सम्मेलनले थप सहयोग गर्ने बताए ।
शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले नेपालका शिल्प–हस्तकलाको संरक्षण, सुरक्षा, विकास र पुस्तान्तरणका माध्यमबाट आधुनिनीकरण र बजारीकरणलगायतका विषयमा छलफल गर्नु यस सम्मेलनको मुख्य उद्देश्य भएको बताए ।
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले थारू बाहुल्य रहेको कैलाली जिल्लामा थारू लोक कलाको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणका साथै संरक्षण तथा संर्वधन हुन जरुरी रहेको बताउँदै विविध कार्यशाला तथा प्रशिक्षणले उत्पादित कलाकारहरूलाई स्थायित्व दिन विचारविमर्श हुन आवश्यक रहेको औँल्याए ।
अग्रज कलाकार श्यामवदन श्रेष्ठले देशका विभिन्न समुदायद्वारा सिर्जित ललितकलाको बजारीकरण, संरक्षण, प्रवद्र्धन र विकासमा सबैले जोड दिनुपर्ने उल्लेख गरे । उनले कलाको विकास तथा सैद्धान्तीकरणमा गर्नुपर्ने सम्पूर्ण कार्य अहिलेको समयको माग भएको बताए ।
कार्यक्रममा प्राज्ञ धर्मराज शाक्यले ‘प्राचीन नेपाली शिल्पकलाका अध्ययनमा देखिएका चुनौतीहरू’, डीबी नेपाली ‘दमु’ले ‘शिल्पकलाको विकासमा आदिमवासी शिल्पी समुदाय’ र प्राज्ञ डा। कृष्णराज सर्वहारीले ‘थारू समुदायमा घर निर्माण र सजावट कला’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
ती कार्यपत्रमाथि क्रमशः तेजविलास अधिकारी, कमला हेमचुरी, रामनारायण महतोले टिप्पणी गरेका थिए। सम्मेलन १८ गतेसम्म चल्ने छ ।
समारोहमा प्रतिष्ठान प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, विभिन्न सङ्घ–संस्थारक्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकार, पत्रकार, अनुसन्धातालगायतकोे उपस्थिति रहेको थियो