नारायण ढुङ्गाना
काठमाडौँ, ११ भदौ : उमेरले ७६ पुग्नुभएका कला सर्जक तथा समीक्षक रमेशनाथ खनालको पर्याय हो, बिम्बविहीन सिर्जनामा रङ र रेखाको बेजोड प्रस्तुति । रुपविहीन अर्थात आकृति नभएको कलाकृति उहाँको पहिचान हो । उहाँका चित्रकलामा युवा जोश भेटिन्छ ।
यसपालि रातो निलो, पहेँलो, हरियो, सेतो, कालो, सिन्दुरे र बैजनी रङलाई खुबै खेलाएर कला सर्जक खनालले लाजिम्पाटमा ‘३५औँ एकल चित्रकला प्रदर्शनी’ गरिरहनुभएको छ । खनालको ब्राण्ड हो ‘अरुपण कला’ । बिम्बविहीन छन् । दृष्टिकोण निर्माणमा कला पारखीलाई स्वतन्त्र छाडिदिनुभएको छ ।
हुन त कुनै प्रदर्शनीमा उहाँको सिर्जना राखिएको छ भने नाम हेरिरहनुपर्दैन कलापारखीले चिनिहाल्छन् चित्र सर्जक खनालकै नै हुन् । कलालाई बेजोड र सुन्दर बनाउन उहाँ टेक्चरसँग बढी खेल्नुहुन्छ । जसले सिर्जनालाई जीवन्त बनाइदिन्छ ।
उहाँ भन्नुहुन्छ, “यि चित्रहरु पहिलेभन्दा फरक ह्याजिङलाई टेक्चरका रुपमा प्रयोग गरेको छु, तीन पृष्टभूमिमा रङ बगेको छ, छुट्टै देखिन्छ तर छुट्टै होइन ।”

नेपाली चित्रकलामा छुट्टै छाप बनाउनुभएका कलाकार खनाल साहित्यक स्रष्टा, कवि, प्राज्ञ र कला शिक्षक पनि हुनुहुन्छ । उहाँका थुप्रै कृति बजारमा छन् ।
योपटक काठमाडौँको लाजिम्पाटमा रहेको अरुपण आर्ट ग्यालरीमा पछिल्लो ४ वर्षमा बनाइएका १७ वटा कृति राखिएको प्रदर्शनीमा क्यान्भासमा रङ र रेखाको बेजोड प्रस्तुति देखिन्छ । उमेरले ७६ पुग्नुभएका खनालका कलामा जवानी भरिएको छ । उहाँ भन्नुहुन्छ, “यो मेरो जीवन हो र सकुन्जेल गरिरहन्छु ।”
सन् २०१८ मा अमेरिकामा ३२औँ एकल कला प्रदर्शनी गर्नुभएका खनालले कलापारखीमाझ अरुपण अर्थात रुप नभएको कला प्रस्तुत गरिरहनुभएको छ । उहाँ यो विश्वमै नौलो कला भएको दावी गर्नुहुन्छ ।
उहाँका बिम्बविहीन चित्रमा अनौठा आकर्षण र सुन्दरता भरिएको हुन्छ । त्यही प्रस्तुति जारी प्रदर्शनीमा छ । उहाँ थप्नुहुन्छ, “यी चित्र पढ्न र सुन्नका लागि होइन हेर्न, बुझ्न र फिल गरेर अनेक दृष्टिकोण निर्माण गर्न हो ।” उहाँको भनाइमा सत्यता त्यसले महसुस गर्छ जो चित्र अवलोकन गर्न पुग्छ ।
चित्र अवलोकनपछि वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ भन्नुहुन्छ, “अरुपर्ण आर्ट ग्यालरीमा कला साधक, कवि तथा प्राज्ञ रमेश खनालको ३५औँ एकल एक्रेलिक अरुपर्ण आर्ट प्रदर्शनीका चित्रहरूसँग म करिब एक घण्टा वाचाल भएँ । एकल चित्र प्रदर्शनी आफैँमा एउटा क्रोनिकल इतिवृत्त हो । यो कलापारखी, कलाकर्मी र कलाजगतका साधक तथा अनुयायीहरूले कलाभित्रको सम्मोहन आफ्नै आँखाले स्पर्श गर्न पाउने मौका पनि हो ।”
सुरुमा उहाँ प्रतिकात्मक कला बनाउनुहुन्थयो । रविन्द्रनाथ टेगुर, महाकवि देवकोटा, माधव घिमिरे लगायत विश्वप्रसिद्ध कलाकारका कविताहरु पढेर उहाँले चित्रमा ढाल्नुहुन्थ्यो । केही प्दशर्शनी पनि भयो तर पहिचान भएन भने हराइन्छ भन्ने उहाँलाई लाग्यो । कला प्रदर्शनी थाल्दा आयामेली कवि इश्वर बल्लभसँग भेट्नुभयो । उहाँले दिएको सुझावले नै उहाँले अरुपण कला सुरु गरेको सुनाउनुभयो ।
एउटा धार नबोकी कलामा पहिचान बनाउन नसकिने बुझेरै उहाँले अरुपण चित्रलाई नै आफ्नो धार बनाउनुभयो । झट्ट हेर्दा अमूर्त कला लाग्ने सिर्जनालाई खनाल भने अमूर्त नभएको दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अमूर्त कलामा भिजन हुन्छ, लैनसिंह वाङ्देल, लक्ष्मण श्रेष्ठले भिजनमा बनाउनुभएको थियो । तर यो पेन्टिङ् भिजनलेस हो, यसमा आर्टिष्टिक सजावट गर्नुपर्ने हुन्छ ।”
उहाँका कला हेरेर मानिसले आआफ्नै दृष्टिकोण दिन सक्छन् । २० जना मान्छे आए भने चित्रकलाको वीसथरिका दृष्टिकोण बन्छ ।
यस्ता चित्रकलामा रङको संयोजक निक्कै चुनौतीपूर्ण हुन्छ । मिठास दिन सनसके कला मूल्यहीन बनिदिन्छ । कतिपयका त्यसै रङ फ्याँकेपछि बनाउन सकिन्छ भन्ने धारणा पनि नभएको होइन तर रङको संयोजनले आनन्द दिएन भने मान्छेले किन्दैनन् । कविताको भावले जसरी मानिसलाई छुन्छ चित्रको भावले पनि त्यसैगरी छोएन भने सिर्जना सिर्जना हुँदैन ।
यस्ता कला मनोवैज्ञानिक दृष्टिकोणले पनि हेर्न सकिन्छ । कुनै चित्रहरु विचलित मनबाट बनेका हुन् कि जस्तो लाग्छ, कुनै सिर्जनामा मानिसका आकृति भेटिनसक्छन्, कुनै आकृतिमा मानिसको मिलन भइरहेको जस्तो भान पनि हुन्छ । कुनै सिर्जना केही बोलिरहेका झैँ लाग्छन् । यही हो भनेर ठम्याउन नसकिने तर धेरै कुराहरु उब्जाइदिन सफल छ कलाकार खनालका यहाँ प्रदर्शित सिर्जना । दुई वटा कोलाज भरिएका सिर्जना छ । रङको सुन्तुलन र सौन्दर्यलाई उहाँले केन्द्रमा राखेर अरुपण कला तयार पार्नुभएको छ ।
चित्रहरु कलाकारको मुडमा पनि भर पर्छ । कलाकार कस्तो अवस्थामा हुन्छ, उसले त्यस्तै अभिव्यक्त गर्छ सिर्जनामा । उहाँका कला कुनै आधारबाट उठाइएका कला छन् त कुनै उडिरहेका झैँ देखिन्छन् ।
सन् २०२२ देखि बनाइएका १७ वटा अरुपण कला यहाँ प्रदर्शमा छन् । एउटा चित्रमा बालुवा छरेर त्यसमाथि रङ खेलाएर तयार पारिएको छ । जसले प्रदर्शनीमा छुट्टै आकर्षण थपिदिएको छ ।
भनिन्छ चित्रले मनिसिको दिमाग क्रियाशील बनाउन सक्यो भने सफल मानिन्छन् । उहाँका चित्रमा पारखीहरु केही बेर घोरिन्छन्, मन उद्देलीत बनाउन सफल हुनुहुन्छ कलाकार खनाल । कहिले काहिँ चित्र कोर्दाकोर्दै, रङ खेलाउँदा खेलाउँदै समस्या पर्यो भने उहाँ प्रकृतिलाई नियाल्न थाल्नुहुन्छ ।
भन्नुहुन्छ, “त्यहाँबाट प्राप्त आकार, हरियाली, फूल र प्रकृतिका रङले नयाँ आइडिया दिन्छ र फेरि भर्न थाल्छु ।” उहाँ आफ्नैपन बोकेको नेपाली कलाको देन अरुपण कला हो भन्नुहुन्छ ।
उहाँका कला हेराैँ:



