काठमाडौँ, ९ भदौँ : काठमाडौँ प्रहरीले महिला प्रहरीलाई पनि महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले यसपटकबाट महिला प्रहरीको योगदानको उच्च मूल्यांकन गर्दै मासिकरुपमा उत्कृष्ट महिला प्रहरी पुरस्कारको थालनी गरिएको जानकारी दिनुभयो ।
यसपालि नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमिला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्रथम नेपाल प्रहरी महिला सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी सङ्गठनबाट आफूलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, साङ्गठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरेको तथा कार्यालयबाट तोकिएका काम कारबाही तदारुकताका साथ तामेल गर्दै सर्वसाधारणको माझमा नेपाल प्रहरीको छवि उच्च राख्ने र साङ्गठनिक श्रीवृद्धि गर्ने काममा निर्वाह गरेको भूमिकाको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
उहाँले आज जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘यस जिल्ला प्रहरी परिसर, काठमाडौँद्वारा महिला प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि गर्नको लागि वेष्ट वमन पुलिस अफ द मन्थ घोषणा गरी यस जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डे र नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमिला श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको छ ।’
प्रमुख अधिकारीले आगामी दिनमा समेत महिला प्रहरीहरूको दक्षता अभिवृद्धि, क्षमता विस्तार र जिम्मेवारी प्रतिको चुस्ततालाई निरन्तरता दिई संगठनप्रति योगदान दिने वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रहरीले केही दिन अघि मात्रै महिला प्रहरी सम्मेलन सम्पन्न गरेको छ । सोही सम्मेलनले पनि महिला प्रहरीको भूमिकालाई प्रशां गर्दै उच्च प्राथमिता दिका साथ काम गर्नै निष्कर्ष निकालेको छ । सोही सम्मेलन लगत्तै परिसरले आज उक्त पुरस्कार सुरुवात गरी दुर्इ महनिा प्रहरीलाई सम्मान गरेको हो ।