काठमाडौँ, ८ भदौ : प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा आज प्रहरी प्धान कार्यालयमा नेपाल प्रहरी कार्ययोजना–२०८० तथा आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा गरिएको छ ।
सोही अवसरमा प्रहरी महानिरीक्षक थापा र विभागीय प्रमुख तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिबीच आर्थिक वर्ष २०८२÷०८३ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक दीपक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुबीच सम्झौता भएको हो ।
यस्तै प्रहर िमहानिरीक्षक थापा र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिबिक्रम शाहबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
साथै प्रहरी महानिरीक्षक दीपक थापा र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिबीच भर्चुअल माध्यमबाट
हस्ताक्षर भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीको आन्तरिक
सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबीच भएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको तथा आज सम्पन्न भएको कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न सबै जना एकजुट भएर शुरू समयदेखि नै कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण गर्न तथा उद्देश्य हासिल गर्न कार्ययोजनामा रहेका सम्पूर्ण लक्ष्य प्राप्ति अत्यन्त जरूरी रहेको विचार व्यक्त गर्दै उहाँले प्रहरी सेवालाई चुस्त दुरूस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।