काठमाडौँ, ८ भदौँ : अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आइतबार ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चित्रकला र पुस्तकालय एक–आपसमा परिपूरक रहेको बताउनुभयो ।
चित्रकारहरूलाई पुस्तक अध्ययन गर्नका लागि आग्रह गर्दै उहाँले यसले गर्दा चित्र अझै सरल र मजबुतका साथ प्रस्फुट हुने बताउनुभयो ।
उहाँले कला सिर्जना र पुस्तकले नेपालको संस्कृति, पसम्परा सभ्यता तथा समसामयिक विषयलाई समेट्ने समेत औँल्याउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले पुस्तकालयले चेतना विकासमा प्रमुख भूमिका खेल्ने हुनाले यसलाई सबैको पहुँचसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले चित्रकलाको शिक्षामा महत्त्वपूर्ण भूमिका रहेको बताउँदै बालबालिकाको अध्ययनको सुरुवात चित्रबाट नै हुने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, राष्ट्रिय पुस्तकालयका प्रमुख प्रदीप भट्टराई, केशर पुस्तकालका प्रमुख यादवचन्द्र निरौला, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकृत अमृता अधिकारी, सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डे, नेपाल पुस्तकालय सङ्घका महासचिव संजीव चौधरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यशालामा रविन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, सुरेम देशार, तिसा श्रेष्ठ, पल्पसा मानन्धर, अर्पिता शाक्य, आभा पौडेल, प्रतीक्षा तिवारी, आशिष सिंह गोलेलगायतका कलाकारहरुको सहभागी थियो ।
उहाँहरुले कार्यक्रमकै बीच प्रत्यक्ष कला सिर्जना गरेर देखाउनुभएको थियो ।