काठमाडौँ ६ भदौ : काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा आज भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित कास्की सिन्धुपाल्चोक नुवाकोट, दार्चुलालगायत जिल्लामा भारी वर्षा भएको छ ।
विभागका अनुसार पछिल्लो ३ घण्टामै ती क्षेत्रमा भारी वर्षा भएको छ । सबैभन्दा बढी कास्कीको लुम्लेमा ७४ मिलिमिटर वर्षा भएको छ ।
यस्तै काठमाडौँमा ६२.६ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकमा ५५, नुवाकोटमा ५३, दार्चुलामा ५५.५ मिलिमिटर वर्षा भएको छ । महाशाखाका वरिष्ठ मीनकुमार अर्यालले खण्डित वर्षा हुने गरी मनसुनी गतिविधि बढेको बताउनुभयो । राति र भोलि पनि यस्तै कतैकतै भारी वर्षा र धेरै ठाउँमा मध्याम वर्षा हुने बताउनुभयो ।
उपत्यकामा भएको वर्षाले बागमती तथा विष्णुमतिको जल सतह सतर्कतातह आसपास आएको थियो भने ठाउँठाउँका सडक जलमग्न भएका थिए ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु–भागमा साधारणतया बदली र बाँकी भु–भागमा आंशिक बदली रहेको छ । बाग्मती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार मध्याम वर्षा भने धेरै जिल्लामा भएको छ ।
आगामी २४ घण्टामा भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।