काठमाडौँ, ५ भदौ : काठमाडौँ जिल्लाका विभिन्न स्थानहरूबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गरिएको छ ।
विभिन्न ठाउँमा लुटपाट भएको सूचनाका आधारमा खोजी गर्दै जाँदा प्रहरीले चोरी र लुटपाटका घटनामा संलग्न रहेका समुहले चोरीकै मोटरसाइकल प्रयोग गर्ने गरेको फेला परेको जिल्ला प्ररी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपलिराज बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसरी लुटपाटमा संलग्न ६ जनालाई चोरिएका मोटरसायकलसहित पक्राउ गरिएको छ । चोरीका मोटरसाइकल प्रयोग गर्दा भाग्न सकिने सोचेर उनीहरुले उक्त अपराध गरेको पाइएको छ ।
प्रहरी प्रभाग नयाँ बसपार्क र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसमेतबाट खटिएको प्रहरी टोलीले संकास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीकै मोटरसाइक लप्रयोग गरी चोरी गरेको पाइएको प्रहरीले जनाएको हो ।
यसरी पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला घर भई धापासी बस्ने वर्ष १८ का साहिल क्षेत्री, नुवाकोट घर भई फुटुङ बस्ने वर्ष २५ का संग्राम राई, सुनसरी घर भई फुटुङ बस्ने वर्ष २१ का दिपेश लिम्बु, मकवानपुर बागमती घर भई टोखा बस्ने वर्ष २७ का सम्भु माझी, रामेछाप घर भइ टोखा बस्ने वर्र्ष २० का प्रकाश तामाङ र काभ्रेपलान्चोघर भई टोेखा नै बस्ने वर्ष २२ का मिलन तामाङ रहेका छन् ।
उनीहरुका साथबाट चोरिएका बा ५२ प ३६३० नम्बरकोस्कुटर (हाल उक्त नम्बर परिवर्तन गरी बा १० प ६३०८ को नम्बर प्लेट राखिएको) बा ८१ प ३३८२ नम्बरको स्कुटर र बा प्र ०२–०२५ प ७११९ नम्बरको स्कुटर पनि बरामद गरिएको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुमाथि ५ दिनको म्याद लिएर अनुसन्धान जारी रहेको छ ।