काठमार्डौँ, ३ भदौँ : सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाई गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा कडाइका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको हो ।
सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रुपमा निगरानी गरिरहेको र त्यसमा कतै कमी कमजोरी देखिएमा वा शंका लाग्नासाथ कुनै पनि कमाण्डर छानबिन र कारबाहीको भागिदार बन्ने उहाँले चेतावनी दिनुभयो ।
हरेक कमाण्डर मुलुक, आम जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पार्दै उहाँले असल कार्यका लागि मुख्यालयको आदेशको पर्खाईमा बस्नु नपर्ने बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरित कार्य गर्ने माथि कठोर हुनसमेत निर्देशन दिनुभयो ।
सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नको लागि र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हर हालतमा चनाखो बन्न पनि उहाँले निर्देशन दिनुभयो ।
सो क्रममा सीमा जोडिएका क्षेत्रका सबै बाहिनी मुख्यालय, गण, गुल्म तथा बिओपी कमाण्डरहरुलाई सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले त्यसक्षेत्रमा कार्यरत कमाण्डरहरुले सीम अपराध रोकथामको लागि सरोकारवाला सबै निकायसँगको समन्वय र सहकार्यमा कार्य गर्न आग्रह गर्नुभयो ।
सीमासम्बन्धी अभिलेखिकरण तथा त्यसको विविध पक्षहरुका बारेमा सबै तहका कमाण्डर जानकार हुनुपर्नेमा जोड दिँदै उहाँले प्रत्येक युनिटले गर्ने राम्रा कार्य र सफलता समग्रमा संगठन र मुलुकको सफलता सँग जोडिने भएकोले त्यसतर्फ अझ बढी संवेदनशील हुन निर्देशन दिनुभयो ।
कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरुले हाल सीमा क्षेत्रमा भइरहेका कामकारवाही सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण गरेका थिए भने गण, गुल्म तथा विओपी कमाण्डरहरुले समेत सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।