काठमाडौँ, १ भदौ : यो वर्षको चार महिना (गएको वैशाख १ देखि आज भदौँ १ गतेसम्म) २ हजार आठ सय ८१ वटा विपदजन्य घटना घटेको छ ।
ती घटनामा परेर १३० जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणले आज जानकारी गराएको छ ।
प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार ती घटनाहरुमा परेर यो चार महिनामा २२ जना बेपत्ता भएका छन् । कुल ५९७ जन घाइते भएका र ५ हजार १४१ परिवार प्रभावित भएका उहाँले बताउनुभयो ।
मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण धेरै मानिसको मृत्यु भएको र बाढीका कारण धेरै मानिस बेपत्ता भएका छन् ।
प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । गएको असार २४ गते आएको रसुवा बाढीका कारण यती धेरै मानिसको मृत्यु र बेपत्ता भएका हुन् ।
पहिरोका ३१८ घटनामा १६ को मृत्यु, भारी वर्षाका २८७ घटनामा ४ र चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै सर्पदंशका ७७ घटनामा ११, आगलागीका १ हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा ८, जनावर आक्रमणका १७४ घटनामा १४, लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।
प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ वटा विपदका घटना भएकोमा ३ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार ती घटनामा १२ जना घाइते भएका छन् ।