काठमाडौँ, २९ साउन : काठमाडौँमा आर्थिक अपराधका मुद्दा बढ्दै गएको छ । त्यसमा पनि अझै बैंकिङ कसुरका मुद्दा अत्याधिक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
कुल दर्ता मुद्दामा आधारभन्दा बढी बैंकिङ कसुरका रहेका छन् । उहाँका अनुसार काठमाडौँ जिल्लामा एक वर्षमा कुल १२ हजार ९१५ मुद्दा दर्ता भएकामा सबैभन्दा बढी ६ हजार ५५३ वटा मुद्दा बैंकिङ कसुरका रहेका छन् । अघिल्लो आवमा ५ हजार ७०१ वटा मुद्दा दर्ता भएकोमा यसपाली बढेको हो।
यसपाली सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपरात्रध र अभौतिक मुद्रासम्बन्धी आार्थिक अपराधका घटना पनि बढेको पाइएको छ ।
अधिकारीका अनुसार आव २०८०÷८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१÷८२ मा ३२, अनुचित लेनदेनका मुद्दा गतवर्ष ९ रहेकोमा आव २०८१÷८२ मा ३० वटा, विद्युतीय अपराध १९ बाट २३, नेपाल राष्ट्र बैंक ऐनअन्तरगतको मुद्दा ८ बाट १८ र अभौतिक मुद्रासम्बन्धी कसुर २ बाट १२ वटा पुगेको छ ।
अन्य अपराधमा अभद्र व्यवहारका १ हजार ९५३, चोरीका ९५१, ठगीका ७४५, लागू औषधका ४३१, आत्महत्याका ३३२, जबरजस्ती करणीका २४४, ज्यानमार्ने उद्योगका १४०, सवारी ज्यानका १०० र सवारी अंगभंगका ७४ मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।
प्रमुख अधिकारीले औषतमा दैनिक ३५ मुद्दा दताृ हुने गरेको जानकारी दिनुभयो ।