काठमाडौँ, २६ साउन : नेपाल कार्टुनिष्ट क्लबले आज पाँच जना अग्रज कार्टूनिष्टलाई ‘बराथा स्मृति सम्मान’ प्रदान गरेको छ ।
क्लबले आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उहाँहरुलाई सम्मान प्रदान गरेको हो ।
सम्मानित हुने अग्रज कार्टूनिष्टहरुमा अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी, राजेश केसी र अविन श्रेष्ठ रहनुभएको छ । उहाँहरुलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।
पाँच दशकदेखि नेपाली कार्टुनमा सक्रिय अग्रज कार्टूनिष्ट सिंहको नेपाली कार्टूनको संस्थागत आधार तयार पार्नमा महत्वपूर्ण भूमिका रहेको छ ।

यस्तै अर्का कार्टूनिष्ट राजोपाध्याय २०४४ सालमा कामना मासिक पत्रिकाबाट कार्टूनिष्टका रुपमा लाग्नुभएको थियो ।
यस्तै चार दशकदेखि कार्टूनमा सक्रिय अर्का कार्टूनिष्ट रविन सायमी दृष्टि साप्ताहिकबाट काम थाल्नुभएको थियो भने राजेश केसी तीन दशकदेखि कार्टून पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
यस्तै अविन श्रेष्ठ २०५० सालदेखि गोरखापत्रबाट कार्नुन पत्रकारितामा लाग्नुभएको हो ।
कार्यक्रममा कुलपति हार्तम्छालीले यसरी सम्मान प्रदान गर्दा कार्टून कला सिर्जनामा प्रोत्साहन मिल्ने बताउँदै आगामी दिनमा प्रतिष्ठानले पनि सहकार्य गरेर कार्टून कलाको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आगामी दिनमा कार्टूनलाई एनिमेसनसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । एआईको तीव्रत्तर विकाससँगै कार्टूनलाई पनि सोही अनुसार रुपान्तरण गर्न जरुरी रहेको उहाँले औँल्याउनुभयो ।
नेपाल कार्टूनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले सम्मानलाई अझै सुधार गरेर लैजाने जानकारी गराउँदै यसका विकासका लागि क्लबले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

सम्मान छनोट समितिका सदस्य केशवराज खनालले सम्मानित व्यक्तिहरुका बारेमा जानकारी दिँदै विगतमा विविध कारणले रोकिएको सम्मान यसपालि वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार २०७७ देखि २०८१ सम्म रोकिएको सम्मान आज प्रदान गरिएको हो । हरेक वर्ष एक जना कार्टूनिष्टलाई उक्त सम्मान प्रदान गर्ने गरिएको छ ।
अर्का कार्टूनिष्ट अविन श्रेष्ठले २०७० सालमा आफू क्लबको अध्यक्ष भएका वेला स्थापना भएको उक्त सम्मानबाट आज आफैँ सम्माति हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममका राजेश केसी भने उपस्थित थिएनन्।
