काठमाडौँ, साउन २३ : पत्रकार चाँदनी हमाल अमेरिकी सरकारले प्रदान गर्ने इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राममा सहभागी हुन शुक्रवार अमेरिका प्रस्थान गर्नुभएको छ ।
उहाँ हाल गोरखापत्र संस्थानअन्तर्गत प्रकासन भइरहेको देशकै जेठो नेपाली छापा पत्रिका गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ ।
उहाँलाई नेपालस्थित अमेरिकी दूतावासले सम्भाव्य सहभागीका रुपमा मनोनयन गरेपछि अमेरिकी विदेशमन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्यूरोले सिकाइ तथा अनुभव आदानप्रदानका लागि छनोट गरेको हो।
पत्रकारिता पेसामा निरन्तररुपमा खारिएको अनुभवका साथ नेतृत्वक्षमता विकास गर्नु भएकी पत्रकार हमालले उक्त कार्यक्रमका लागि छनोट भएर अमेरिका जाने अवसर प्राप्त गर्नु भएको हो ।
हमाल विगत २७ वर्षदेखि पत्रकारितामा सक्रिय हुनुुहुन्छ । मकवानपुर जिल्लाबाट पत्रकारिता आरम्भ गर्नुभएकी उहाँले त्यहाँको स्थानीय रेडियो तथा पत्रिकामा आवद्ध रहेर काम सुरु गर्नु भएको थियो । साहित्य लेखनीमा पनि अब्बल उहाँ २०५८ सालदेख भने चितवनमा पत्रकारितामा सक्रिय हुनुभयो ।
त्यहाँस्थित कालिका एफ.एम.मा समाचार प्रमुखका रुपमा आठ वर्ष पत्रकारिता गर्नुभयो । त्यसपछि नागरिक दैनिकमा आवद्ध भएर जिल्ला र काठमाडौँमा गरी ११ वर्ष पत्रकारिता गर्नुभयो । त्यसबीचमा उहाँले उज्यालो नेटवर्क, अनलाइनखबर डटकमसहित स्थानीय पत्रपत्रिकामा पनि आफ्नो कलम चलाउनु भएको थियो ।
विगत सात वर्षदेखि उहाँ गोरखापत्र दैनिकमा आवद्ध रहेर पत्रकारितामा सक्रिय हुनुुहन्छ । उहाँले आमसञ्चार पत्रकारिता, अन्तरराष्ट्रिय कानुन, समाजशास्त्र, राजनीतिशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नु भएको छ ।
महिला पत्रकारको संस्था संवाहिका समाज नेपालको अध्यक्ष तथा दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च नेपाल च्याप्टरकी कोषाध्यक्ष हुनुहुन्छ ।
महिला पत्रकारको हित संरक्षण, क्षमता अभिवृद्धिका तालिम तथा प्रशिक्षणका साथै अतिथि अध्यापकका रुपमा स्वयंसेवी शिक्षणमा सहभागी हुँदै आउनु भएको छ । उहाँ अधिवक्ताका रुपमा मानवअधिकार र महिला न्यायका लागि नीति निर्माण तथा न्याय प्राप्तिका लागि विभिन्न माध्यमबाट सहयोग गर्दै आउनु भएको छ ।
यस अघि उहाँ युरोपियन युनियनले प्रदान गरेको प्रतिस्पर्धात्मक इयू मानव अधिकार पत्रकारिता पुरस्कारबाट सम्मानित भएर सन् २०२३ मा युरोप भ्रमणको अवसर प्राप्त गर्नु भएको थियो ।
उहाँ नेपालमा खोजपत्रकारिता केन्द्रकी सन् २०१० ब्याचको सहभागी रहनुभई खोजमुलक समाचारमा अब्बल ठहरिनुका साथै विभिन्न डेढ दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँसँगै तनहुँका पत्रकार पवन पौडेल पनि उक्त कार्यक्रमका लागि अमेरिका जानु भएको छ ।
के हो आइभिएलपी
अमेरिकी सरकारको आधारभूत व्यावसायिक ज्ञान तथा सीप आदानप्रदान कार्यक्रमको रूपमा, इन्टरनेसनल भिजिटर लिडरसिप कार्यक्रम (आइभिएलपी) ले अमेरिकी राष्ट्रिय प्राथमिकताका विषयहरुका बारेमा पेसाकर्मीहरुलाई जानकारी दिँदै अनुभव तथा ज्ञान आदानप्रदान मार्फत विभिन्न मुलुकका सरकार, व्यवसाय, शिक्षा, पत्रकारिता तथा अन्य क्षेत्रहरूमा सहकार्यको दायरा फराकिलो बनाउँदै दीर्घकालीन सम्बन्धका लागि मार्ग प्रसस्त उदेश्य राखेको ब्यूरोले जनाएको छ ।
सन् १९४० मा यसको स्थापना भएदेखि झण्डै साढे दुई लाख अन्तरराष्ट्रिय नेतृत्व क्षमता भएका व्यक्तित्वहरुले यस भ्रमणमा सहभागिता जनाइसकेका छन् ।
हरेक वर्ष करिब पाँचहजार भ्रमणकर्ताहरु विश्वका विभिन्न देशबाट सहभागी हुन अमेरिका पुग्ने गरेका छन् । आइभिएलपीमा सहभागीमध्ये पाँचसय भन्दा बढी विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुख बनिसकेका छन् ।
साथै १२ जना नोबेल पुरस्कार विजेता तथा एक हजार छसय बढी सहभागिहरु मन्त्री बनिसकेका छन् । त्यस्तै एक हजारभन्दा बढी सहभागी सांसद, उद्योगपति, वैज्ञानिक तथा विज्ञ व्यक्तित्व बन्न सफल भएका छन् ।
यस कार्यक्रमका लागि विश्वभर रहेका अमेरिकी दूतावासहरुले सम्भावित सहभागीहरुलाई मनोनित गर्छन् ।