काठमाडौँ, २२ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिसम्बन्धी राष्ट्रिय सम्मेलन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्रज्ञा परिषदको संयुक्त बैठकलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पाण्डेले केन्द्रका तीनवटै प्रतिष्ठानले गहिरोरुपमा प्राज्ञिक अध्ययन, अनुसन्धान गर्न र लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसका लागि एउटा राष्ट्रिय सम्मेलन जरुरी रहेको उहाँले बताउनुभयो । मन्त्री पाण्डेले तीन वटै प्रतिष्ठानले समन्वयात्मक रुपमा यसरी कार्य गरेको प्रति प्रशंसा गर्दै अझै समन्वयमार्फत धेरै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले संस्थागत, नीतिगत, कार्यक्रमिक विषयलाई जोडदिनुपर्ने बताउनुभयो । उहाँले प्राज्ञिक संस्थाहरूको सहकार्यले प्राज्ञिक ज्ञानलाई इस्पातिलो बनाउन मद्दत गर्ने र त्यसले देशको सांस्कृतिक जगलाई बलियो बनाउने बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले समाजवादी प्राज्ञिक अभ्यास गर्ने र सहकार्यका विषयमा खोजी गर्न जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले गणतन्त्र दिवस, सहिद दिवस, संविधान दिवसजस्ता राष्ट्रिय कार्यक्रमहरुमा सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले प्रस्तुतिकरणमार्फत प्रतिष्ठानले दुई वर्षे अवधिमा सम्पन्न गरेका कार्य, प्रतिष्ठानका योजनागत, कार्यक्रमिक, रणनीतिक र यस आ.व.मा गरिने महत्त्वपूर्ण कार्यहरूका बारेमा जानकारी दिनुभयो ।
उहाँले केन्द्रका तीनवटा प्रज्ञा–प्रतिष्ठान संयुक्तरूपमा भेला भई छलफल गर्दा यसले सांस्कृतिक क्षेत्रमा राष्ट्रिय महत्त्वका कार्यहरू गर्न अझ सहयोग गर्ने बताउनुभयो ।
सो क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचवि कुश्मा महरा प्रगतिले आआफ्ना प्रतिष्ठानले गरेका कार्य र आगामी कार्यक्रमका बारेमा प्रस्तुति दिनुभएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।