काठमाडौँ, २२ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ फरक विषयको सामना गर्नुपर्यो । उहाँलाई आज काठमाडौँमा विद्यार्थीहरुका ९९ प्रश्नको कठघरामा उभ्याइएको थियो ।
देशभरका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुका संकलित प्रश्न अध्यक्ष दाहाललाई पालैपालो सोधिएको थियो । आज माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहाललाई उक्त ९९ प्रश्नको कठघरामा उभ्याइएको हो ।
विद्यार्थीका अधिकांश प्रश्नहरु शैक्षिक विकृति विसंगति, शिक्षा प्रणालीका कमजोरी, व्यवहारिक, रोजगार सीपमुलक र उद्यममुलक शिक्षा विकास हुन नसकेकोमा आक्रोस थियो ।
ती प्रश्नहरुको अध्यक्ष दाहालले पालैपालो उत्तर दिनुभएको थियो । ४५० भन्दा बढी प्रश्नबाट छानेर उहाँलाई ९९ वटा प्रश्न सोधिएको हो ।
विद्यार्थीसँगका प्रश्नोत्तरको सहजीकरण भने पत्रकार रुपेश श्रेष्ठले गर्नुभएको थियो । विद्यार्थीका लिखत प्रश्नलाई श्रेष्ठले प्रस्तुत गर्ने र अध्यक्ष दाहालले जवाफ दिनेक्रम रहयो । राष्ट्रिय सभागृहको प्रेक्षालय भरिभराउ विद्यार्थीहरु चोटिला प्रश्नमा गडगडाहट तालीसहित हुटिङ गर्थे । अध्यक्ष दाहालको सोही अनुसारका जवाफमा पनि विद्यार्थीहरु तालि पड्काउँथे ।
शिक्षा निजीकरणको दलदलमा पुग्दा किन ध्यान पुगेर? विद्यार्थी सुवास गौतमको प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, “उच्च शिक्षा आयोग र विद्यालय शिक्षा विधेयकमा यही कुरालाई गुणात्मक सुधार गर्ने प्रयास गरिएको छ, तर ठूला पार्टी (विशेष गरी एमाले कांग्रेस)त्यतातर्फ नदेखिनु विडम्बना हो । ठुला पार्टी शिक्षाको गुणस्तर वृद्धि र मेरिटोक्रेसी बढाउनेमा छैन ।”
सोही क्रममा पत्रकार श्रेष्ठले विद्यार्थी श्याम साह र अजय शर्माका जीवनोपयोगी शिक्षा खै? र गुणस्तर शिक्षा किन छैन? भन्ने प्रश्न अध्यक्ष दाहालसामु राखे । जवाफमा उहाँले भन्नुभयो, “शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ, मुल कुरा शिक्षालाई राज्यले नै जिम्मेवारी लिनुपर्छ । निजी शिक्षा निरुत्साहित गर्नुपर्छ ।”
श्रेष्ठको थप प्रश्न राखे– के नेपालको शिक्षा प्रणाली त्यसरी अघि बढेको छ? अध्यक्ष दाहालले थप्नुभयो, “दुर्भाग्य अहिलेसम्म त्यस अनुसार शिक्षा नीति कार्यान्वयन हुन सकेको छैन, आफ्नो सरकारका बेलामा उच्च शिक्षा आयोग गठन गरी शिक्षालाई रोजगारको प्रत्याभूति हुने गरी प्रतिवेदन बनेको थियो, त्यो प्रतिवेदन नै गायव पारिएपछि अघि बढेन, तेस्रो पटक प्रधानमन्त्री हुँदा कार्यान्वयनको चरणमा जाँदैथियो सरकार ढल्यो ।”
विद्यार्थीहरुले अध्यक्ष दाहालसामु सीपमुलक शिक्षाको अभावमा वेरोजगारी बढेको, युवा विदेशिएका, अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धा हुन नसकेका, उद्यमी बन्न नसकेको किन, शिक्षा प्रणाली किन सुधार भएन?, के समस्या भयो? कसले रोक्यो? लगायतका प्रश्नहरु राखेका थिए ।
सो क्रममा अध्यक्ष दाहालले सार्वजनिक शिक्षामा आफूले सुधार गर्न खोजेको तर नदिएको भनेर जवाफ दिनुभएको थियो । त्यसमा कसको दोष रहयो भन्ने प्रश्नमा उहाँले अहिलेका ठूला पार्टीले अवरोध गरेको जवाफ दिनुभयो । विद्यालय शिक्षा विधेयक पनि सरकारले नै रोको दावी गर्दै उहाँले यो विधेयक पारित भए शिक्षाका धेरै समस्या हल हुने पनि बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “सरकारको सार्वजनिक शिक्षा सुधारतर्फ ध्यान छैन, विशेषत प्रधानमन्त्री केपी ओली नै यो विधेयकको विरुद्धमा हुनुहुन्छ, सरकारले नै विधेयक रोकिराखेको छ ।”
अध्यक्ष दाहालले थप्नुभयो, “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा सुधार नगरी अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन, त्यसकारण अब अर्काे क्रान्ति चाहिएको छ भनेर मैले भनेको हो, त्यो क्रान्ति सशस्त्र क्रान्ति भनेको होइन, फेरि सडकबाट क्रान्ति नगरेसम्म उनीहरुको दिमागमा छिर्ने छैन ।”
परम्पराको साङ्लोहरु अझै बाँकी रहेको र अहिलेका ठूला दल परम्परागत शिक्षालाई नै अघि बढाउन उद्दत रहेको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यही कारण क्रान्तिको खाँचो रहेको आफूले बताएको उल्लेख गर्नुभयो ।
उहाँले शिक्षामा आमूल परिवर्तनका लागि सामुहिक संकल्प र प्रतिबद्धताको खाँचो रहेको औँल्याउँदै भन्नुभयो, “त्यसका लागि म सबैसामु अपिल पनि गर्दछु ।”
शिक्षालाई सीपयुक्त र रोजगारीमा जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षालाई राज्यले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उक्त शैक्षिक संवाद अघि भने जनवादी गायक जीवन शर्माले सिमली छायाँमा लगायत गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष पार्टीका विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्मा, अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटा, उपाध्यक्ष मदन ढकाल लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थी नेता स्व. विनोद अधिकारीकी आमा हरिमायाँलाई दोसल्ला ओढाएर अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो ।