काठमाडौँ, २१ फागुन : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् ।
उहाँले आज संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिनुभयो ।
गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताउनुभयो । “अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस)सँग पनि एकताका लागि छलफल चलेकोछ”, गुरुङले भन्नुभयो ।
नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकाले पनि छिटो एकता गर्न सहज हुने बतउँदै गुरुङले भनुभयो, “समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायतका विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्ने छ ।”
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तररुपमा सदन अबरुद्ध गर्दा महत्वपूर्ण विधेयकहरु रोकिने भएकाले २ बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सही भएको मूल्याङकन गरेको उहाँले बताउनुभयो ।
कुलिङ पिरियड प्रकरणबारे बनेको छानबिन समितिले सही निष्कर्ष निकालेर त्यसलाई सच्याउनु पर्छ भन्ने आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए ।
त्यसैगरी कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी शुशिलले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताउनुभयो ।
समाजवादी मोर्चा कर्णाली प्रदेश इन्चार्जसमेत रहेका बुढाथोकीले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा समाजवादी क्रान्तिको लागि माओवादी धार र समाजवादी मोर्चामा आवद्ध पार्टीबीच एकता ध्रुविकरण हुनुपर्ने धारणा रख्नुभयो ।